Wednesday, October 14, 2015

दसैं मान्न घर कसरी जाने?


दसैं मान्न घर कसरी जाने?काठमाडौं– दसैंले छोपिसक्यो। धेरैजसो किनमेल र घर फर्कने ताहुरमाहुरमा छन्। पोहोरपरार यतिबेलासम्म टाढाटाढाका धेरै जसो घर पुगिसकेका हुन्थे। यसपालि अवस्था सहज देखिँदैन। भारतीय नाकाबन्दीले पेट्रोलियम हाहाकार छ, गाडी चलेका छैनन्।सबैको साझा चिन्ता छ– दसैं मान्न घर कसरी फर्कने?

सिन्धुलीकी २२ वर्षीया सुशीला कार्की रत्नपार्कको फुटपाथमा प्लास्टिक फूल तथा घर सजाउने सामग्री व्यापार गरेर राजधानीमा गुजारा गर्छिन्। सधैं झैं दसैं मनाउन उनलाई पनि घर जानु छ। तर उपाय निस्किएको छैन। नाकाबन्दीले उत्पन्न यातायात समस्याको पिरलोमा छिन् उनी। ' 'यसपालि खै, गाडी नै पाइँदैनजस्तो छ, कसरी घर जाने हो?' उनले पिरलो गरिन्।

सुशीला अघिल्लो वर्ष टीकाको तीन दिनअघि अर्थात् फूलपातीको दिन घर गएकी थिइन्। व्यापार हुने मुख्य समयमा उनलाई न छिट्टै घर जान मन छ न काठमाडौंमै बस्न। उनी दोधारमा छिन्, 'अहिले जान पाए त हुने हो तर व्यापारको समय नै यही हो। पहिलेजस्तो नभए पनि धेरथोर बिक्री हुन्छ कि भन्ने आशा छ।'

कार्कीजस्ता राजधानीमा गुजारा गरिरहेका धेरै जसोमा यसपालि घर कसरी जाने भन्ने मात्र चिन्ता छैन, गत वैशाखमा गएको भूकम्पले परिवारका सदस्य गुमाउनु वा घरबासविहीन भएको पीडा पनि छ।

सुशीलाको पनि सिन्धुलीको घर भत्क्यो, आफन्तको ज्यान गुम्यो। यसपालि टीका लगाउन नभए पनि आफन्तसँगको भेटघाट र भत्केको घर मर्मत गर्ने योजना छ उनको। उनलाई दसैंको रौनकले अलिकति पनि छोएको छैन। इन्धन अभावले सहरमा बस्न सक्ने अवस्था छैन। 'डेरामा ग्यास सकियो, पसलमा छैन भन्छन्। १५ रुपैयाँ पर्ने चियाको मूल्य २० रुपैयाँ पुगिसक्यो,' उनले पीडा सुनाइन्।

सुशीलाको जस्तो पीडा र दोधार काठमाडौं बस्दै आएका थुप्रैको छ। सरकारले दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि लामो दुरीमा चल्ने सवारीसाधनलाई इन्धन उपलब्ध गराउने प्रतिबद्धता त जनाएको छ तर नागरिक विश्वस्त हुन सकिरहेका छैनन्।

काठमाडौं, इन्द्रचोकको फुटपाथमा लत्ताकपडा बिक्री गर्दै आएका इलामका ४३ वर्षीय राजेन्द्र गिरी सरकारले भनेका कुनै पनि कुरामा विश्वस्त छैनन्। 'यस वर्ष त दसैं के रमाइलो होला र! देशको हालत यस्तो छ,' उनले भने, 'सरकारले खाना पकाउने ग्यास त दिन सकेको छैन, कहाँबाट घर पुर्याहउन तेल देला र?'

घरमा ग्यास सकिन लागेकाले उनी बिहानको खान पसलछेउकै होटलमा खान्छन्। छोराछोरी बेलुकाकै खाना भुटभाट पारेर खान्छन् र स्कुल जान्छन्। 'छोराछोरी कचकच गरिरा'छन्, घर जाने भनेर,' उनले भने, 'तर के गर्ने? गाडी चले त मलाई पनि जान मन छ। यिनीहरूलाई उतै छाडेर आउँथेँ। तिहारसम्म उतै बस्थे। हामी बूढाबूढीको जेनतेन चलिहाल्थ्यो।'

गिरीलाई घर जान पाइएला भन्ने लागेको भने छैन तर पनि झिनो आशा भने अझै छ— 'गाडी चले जाने, नत्र खोइ?'

अन्योलमा यातायात व्यवसायी

नेपालीको ठूलो चाड दसैं अर्को साता सुरु हुँदैछ। अघिल्ला वर्ष यति बेला यातायात व्यवसायी निकै व्यस्त हुन्थे। दसैंका लागि अग्रिम टिकट बुकिङ एक महिनाअघि नै खुलिसक्थ्यो। व्यवसायी यतिखेर कुन रुटमा कति बस थप्ने भनेर हिसाब गर्नमै व्यस्त हुन्थे। दसैंमा काठमाडौंबाहिर जाने यात्रुलाई पनि कम्ता चटारो हुँदैनथ्यो। दसैं मनाउन देशका दूरदराजसम्म पुग्नुपर्ने यात्रु एकाबिहानै टिकट काट्न काउन्टरतिर लाग्थे। प्रहरी र यातायात व्यवसायीले यात्रु नठगिऊन् भनेर नागरिक सहायता डेस्क स्थापना गरेका हुन्थे।

दसैंको समयमा बर्सेनि २० देखि २५ लाख यात्रु काठमाडौंबाट बाहिरिन्छन्। यत्तिकै संख्याका यात्रुलाई यो वर्ष पनि दसैं मनाउन काठमाडौंबाहिर ७५ वटै जिल्लाका कुना–कुना पुग्नु छ। तर कसरी? न यात्रुले अग्रिम टिकट काट्न पाएका छन् न यातायात व्यवसायीलाई गाडी मिलाउने चटारो। झन् धेरै चहलपहल हुनुपर्ने समयमा सडकमा गाडीको संख्या दिनदिनै घट्दै गइरहेको छ। सडकमा गुड्ने सवारीसाधनको भन्दा सडक किनारमा डिजेल हाल्न लामबद्ध सवारीसाधनको संख्या धेरै देखिन्छ।

यस वर्ष दसैंको चहलपहल किन स्वात्तै घट्यो त?

समस्या एउटै हो— इन्धन अभाव।

तीन सातादेखि भारतले लगाएको नाकाबन्दीले इन्धन भित्रिन लगभग ठप्प भएपछि अहिले प्रायः सवारीसाधनका ट्यांकी रित्तिएको छ। कति परिवारले खाना पकाउने ग्यासको सिलिन्डर खाली भएर थन्किइसकेको छ भने कतिको रित्तिँदैछ। होटल र रेस्टुरेन्ट पनि इन्धन अभावले बन्द हुन थालिसकेका छन्।

देशको सबैभन्दा सुविधासम्पन्न सहर काठमाडौंको अहिलेको बसाइ सजिलो छैन। अध्ययन, काम वा यस्तै विभिन्न कारण परिवारसँग छुट्टिएर काठमाडौंमा बसिरहेकाका लागि अहिले दोहोरो पीडा छ। तथापि, सर्वसाधारणको आशा मरिसकेको भने छैन। सरकारले दसैंका लागि यात्रुलाई काठमाडौंबाहिर जान सहज बनाउन दिएको आश्वासनले उनीहरूमा झिनो खुसी भने बाँकी नै छ।

इन्धनसहित अन्य वस्तुको आपूर्ति गर्न जिम्मेवार वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता शम्भु घिमिरे अहिले सर्वसाधारणमा परेको मर्काबारे आफूहरू जानकार भएको र सरकारले गम्भीरतापूर्वक लिएको बताउँछन्। मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल आयल निगम र यातायात व्यवसायीबीच दैनिकजसो यस विषयमा छलफल भइरहेको उनी दाबी गर्छन्। 'तर निर्णय केही पनि भएको छैन। के गर्ने के नगर्ने भन्ने टुंगो छैन,' घिमिरेले नागरिकसँग भने। तर पनि यी दुवै मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीहरू भारतलाई रिझाउन लागिपरेको र इन्धन आयातका लागि भारतको विकल्प खोज्न तयार नभएको स्रोत बताउँछ।

ओखलढुंगाका केशवबाबु खतिवडा घट्टेकुलोमा काठमाडौं डिलक्स बोइज होस्टल सञ्चालन गर्छन्। उनलाई दसैंमा घर जाने मन नभएको होइन। तर होस्टलका अधिकांश विद्यार्थी यसपालि घर जान नसक्ने भएपछि उनले पनि ओखलढुंगा जाने मनसाय त्यागेका छन्।

'दसैंमा आफ्नो घर जान त रमाइलै हुन्थ्यो। तर यहाँ आफ्नै भाइजसरी बसिरहेका विद्यार्थीलाई छाडेर जान मनै मानेन,' उनले भने, 'यो वर्षको दसैं यिनै भाइहरूसँग मिलेर मनाउने सुर कसिसकेँ।' उनको होस्टलमा सुदूरपश्चिमको कर्णालीदेखी मेचीसम्मका विद्यार्थी बस्छन्। 'भाइहरूलाई दाउरामै पकाएर भए पनि खुवाउँछु र दसैं मनाउँछु,' उनको योजना छ।

इन्धनको समस्या

दसैंका बेला उपत्यकाबाट बाहिरिने झन्डै २५ लाख मानिस जान–आउन ८० देखि ८५ हजार गाडी आवश्यक पर्छ। ती गाडी गुडाउन लगभग २८ लाख लिटर डिजेल चाहिन्छ । हालको अवस्थामा त्यो सम्भव छैन। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालका अनुसार सरकारले बिहीबार मात्रै १० लाख लिटर डिजेल उपलब्ध गराउने आश्वासन दिएको छ। 'हामीलाई दसैंमा उपत्यकाबाहिर मात्र यात्रु ओसार्न २८ लाख लिटर तेल चाहिन्छ। तपाईं आफैं अनुमान लगाउनुस्, हामी के गर्न सक्छौं?' उनी प्रश्न गर्छन्।

अध्यक्ष खनालका अनुसार दसैंमा सामान्य अवस्थामा ६५ सयदेखि ७ हजारसम्म गाडी उपत्यकाबाट बाहिरिन्छन्। तर यस वर्ष त्यति मात्रामा गाडी चलाउन सक्ने स्थितिमा न व्यवसायी छन् न सरकार।

'सरकारले आश्वासनअनुसार तेल दियो र घटस्थापनादेखि गाडी चलाउन सक्यौं भने पनि ४५ सयभन्दा बढी गाडी बाहिर पठाउन सक्ने अपस्था छैन,' उनले भने, 'उपत्यकामा अहिले २ सयजति मात्र गाडी उपलब्ध छन्। अरू सबै काठमाडौंबाहिर छन्।'

अहिले नेपाल आयल निगमसँग स्टकमा रहेको तेलले नपुग्ने भएकाले व्यवस्थापनबारे प्रयास गरिरहे पनि स्थिति अन्योलपूर्ण भएको उनले बताए। 'अहिले नाकामा अड्किएका ट्यांकर काठमाडौं प्रवेश गर्न जरुरी छ। तेल नआई गाडी मगाउने कुरा हुँदैन,' उनी भन्छन्, 'अहिले देशभर २० प्रतिशत मात्र सार्वजनिक सवारी चलेकाले दसैंको समयमा यात्रुको चाप अघिल्लो वर्षभन्दा बढ्छ।'

महासंघका अनुसार गत वर्ष २५ लाखभन्दा बढी मानिस दसैंमा उपत्यकाबाहिर गएका थिए। यो वर्ष अवस्थाअनुकूल रहे ३० लाखभन्दा धेरै यात्रु विभिन्न नाका हुँदै बाहिरिन्छन्। 'साना–ठूला गरी दैनिक ३ हजार ४ सयभन्दा धेरै सवारीसाधन आवागमन हुने भएकाले व्यवस्थापन गर्न निकै कठिन हुने खनालले बताए। सामान्य अवस्थामा पनि यात्रुको चाप मारामार हुने र अहिले इन्धन अभावले गर्दा त्यो चाप थामिनसक्नु बन्ने उनको आँकलन छ। दसैं मुखैमा आइरहेका बेला इन्धन आयात करिब–करिब शून्य भएकाले पनि उनीहरू चिन्तित छन्।

छिट्टै बाहिरिनु राम्रो

भैरहवाकी कारभिका बस्याल पढाइ सिलसिलामा नौ वर्षअघि काठमाडौं छिरेकी हुन्। पढाइ सकेर उनी जागिरे छिन्। तर, यसपालिको दसैंमा जस्तो अन्योल यसअघि कहिल्यै नभएको उनको अनुभव छ। 'जसोतसो घर त पुगिएला। खुलेन, स्थिति झन् बिग्रियो भने कसरी फर्किनु,' उनले भनिन्, 'यहाँ अफिस त खुलेपछि हाजिर हुनैपर्योय।'

दसैंकै लागि उपत्यकाबाहिर जानुपर्ने यात्रुको मन खिन्न नहोस् भनेरै सरकारले सक्दो पहल गरिरहेको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारी दाबी गर्छन्। यसैका लागि उपत्यकाबाहिर भएका गाडीलाई भिœयाउने प्रयास सुरु गरेको उनले सुनाए।

अधिकारीका अनुसार सरकारले इन्धन व्यवस्था अझै गर्न सकेको छैन। 'आयल निगमसँग भएको स्टकले कुनै हालतमा पुग्दैन,' उनले भने। विभागले कुन रुटमा कति गाडी चल्छ भनेर यातायात व्यवसायी महासंघसँग लिस्ट मागिसकेको छ। 'आयल निगमले लिस्टअनुसार तेल उपलब्ध गराउने प्रयास गर्नेछ,' उनले समस्या दर्साए, 'टिकटको अग्रिम बुकिङ खोल्नु हुँदैन। टिकट किनबेच त हुन्छ तर त्यहीअनुसार गाडीले तेल नपाए झनै ठूलो समस्या आउँछ।'

संविधान जारी हुने समय नजिकिँदै जाँदा धेरै ठाउँमा बन्दहडताल सुरु भयो। जारी भएलगत्तै तराई बन्द र नाकाबन्दीले थप समस्या चर्काइदियो। यसको सबैभन्दा ठूलो मार यातायात क्षेत्रमा परेको छ। लगभग २५ लाख यात्रुलाई ओहोरदोहोर गराएर पैसा कमाउने सिजनमा व्यवसायीहरू थाप्लोमा हात लगाएर बैंकको ब्याज कसरी तिर्ने भनेर रनभुल्लमा छन्।

'सरकारले घटस्थापनादेखि नै बिदा दिए केही सहज हुन्थ्यो,' विभागका प्रवक्ता अधिकारीले भने, 'त्यसपछि स्कुल–कलेजको सट्टा लामो दुरीको गाडीलाई इन्धन दिन सकिन्छ।'

त्यसो त सरकारले आग्रह गर्नुभन्दा अघि नै अफिस बिदा लिएर धेरै घरतर्फ लागिसकेका छन्। स्याङ्जाको गल्याङ घर भएका शिशिर भण्डारी गोल्डस्टार जुत्ताको मार्केटिङ गर्छन्। उनी गत बिहीबारै घरतिर लागिसके। 'अहिले गए गाडी पाइन्छ,' बानेश्वरचोकमा भेटिएका उनले भने, 'दसैं सुरु भएपछि त जान सकिएलाजस्तो छैन।'

शिशिर त एक्लै परे, समयमै घर लागे। परिवारै लिएर काठमाडौं बसेकाले आफू जान नपाए पनि श्रीमती र बच्चालाई उपत्यकाबाट बाहिर पठाइरहेका छन्। कतिपयले पठाइसके। धनकुटाका उमेश घिमिरेले पनि श्रीमती र बच्चालाई ससुराली विराटनगर पठाइसकेका छन्। 'यहाँ ग्यास छैन। दसैंको मुखमा हिँड्न पेट्रोल पनि छैन,' उनले भने, 'त्यसैले परिवारलाई पठाइदिएँ। म सके धनकुटा जान्छु, नत्र विराटनगर त कसो नपुगिएला।'

काठमाडौंमा माइक्रोबायोलोजी पढिरहेका जुम्लाका वासु उपाध्यायलाई दसैंमा घर जान नपाएर निकै खिन्न लागिरहेको छ। उनले वर्षैपिच्छे दसैंको दिनमा दर्शन गर्दै आइरहेका चन्दननाथ बाबाको मन्दिरलाई टाढैबाट नमन गर्नुपरेको छ। नेताहरू अपारदर्शी भइदिँदा नै जनताले यति बढी सास्ती खेप्नुपरेको उनी आरोप लगाउँछन्।

'गतिलो नेता नभएकाले वर्षदिनमा एकपटक जान पाइने घर पनि यसपालि नपाइने भयो। यसभन्दा ठूलो बिडम्बना के हुन्छ?,' उनले भने, 'म त होस्टलमा बस्छु, होस्टलका सरले आफू पनि घर नगएर हामीसँगै दसैं मनाउने भन्नुभएको छ।'

काठमाडौंमा बसेर अध्ययन गरिरहेका ओखलढुंगाका सुरेश दाहाल अहिलेको समस्यामा सरकारको कमजोरी देख्छन्। 'दसैंको मुखमा घर जान नपाएर अर्काको शरणमा बस्नुपरेको छ,' उनले आक्रोश पोखे, '१५–१७ दिन भइसक्यो, अघोषित नाकाबन्दी भनेको, केही गर्नुपर्दैन सरकारले?'

आपूर्ति मन्त्रालयका प्रवक्ता घिमिरे सरकारले आफूले सक्ने गरिरहेको दाबी गर्छन्। 'देशमा परेको समस्याबारे सबैलाई अवगत नै छ। छलफल भइरहेको छ,' उनले भने, 'यस्तो विषम परिस्थितिमा सबैले राज्यलाई सहयोग गर्नुपर्छ।' उनले राज्य पक्षलाई जनताले सहयोग गर्नुपर्ने बताए पनि राज्यको जनताप्रतिको कर्तव्यबारे प्रश्न गर्दा आफू केही बोल्न सक्ने अवस्थामा नरहेको बताए।

'वाणिज्य मन्त्रालय, यातायात मन्त्रालय, व्यवसायी र आयल निगमबीच हरेक दिनजसो छलफल चलिरहेको छ। निर्णय नभइन्जेल केही भन्ने अवस्था छैन,' उनले भने।

दसैं बिदा नथप्ने शुक्रबारको निर्णयसँगै फूलपातीको दिन उपत्यका छाडेर दुई–तीन दिनका लागि सास्ती भोग्दै घर पुग्ने अभिलाषा धेरैले त्याग्नेछन्। राजधानीबाट बाहिरिने २५ लाख यात्रुले हप्तौंदेखि दसैंमा घर जान पर्खिरहेको बारे सरकार जानकार भएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारी बताउँछन्। आयल निगमले सार्वजनिक यातायातका लागि कहिले र कहाँ इन्धन वितरण गर्छ भन्ने अहिलेसम्म यकिन नभएकाले अन्योलको अवस्था रहेको कतिपय बताउँछन्।

'केही दिनमा आपूर्ति सहज भएन भने निकै कठिन अवस्था आउँछ। त्यसैले अहिले काठमाडौंमा जरुरी काम नभएकाहरू अहिले नै घर जाँदा राम्रो हुन्छ,' उनी सुझाव दिन्छन्। यसो भए घटस्थापना सुरु भएपछि यात्रुको चाप कम गर्न सहयोग पुग्ने उनले बताए।
- See more at: http://www.nagariknews.com/feature-article/story/46904.html#sthash.bSpVFXb3.dpuf

No comments:

Post a Comment