Monday, October 12, 2015

पहाडमा सकिँदै, तराईमा बल्ल बीउ

असार १५, २०७२-मनसुन ढिलो सुरु भएकाले मध्यपश्चिममा असार दोस्रो सातासम्म करिब १५ प्रतिशत खेतमा मात्र रोपाइँ भएको छ । हिमाली र पहाडी क्षेत्रमा झन्डै रोपाइँ सकिए पनि मध्यपहाड र तराईका जिल्लामा बल्ल बीउ राखिँदै छ ।
क्षेत्रीय कृषि निर्देशनालयका अनुसार जुम्लामा ९५, हुम्लामा ७५, डोल्पामा ७५ र कालिकोटमा १० प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै प्यूठानमा ८५, जाजरकोटमा ७५, रोल्पामा ६०, दैलेखमा १५ र रुकुममा १२ प्रतिशत खेतमा रोपाइँ भएको छ । सबैभन्दा धेरै धान उत्पादन हुने बाँके, दाङ, बर्दिया र सुर्खेतमा फाटफुट रोपाइँ सुरु भएको छ ।
उपत्यकामा बीउ राखिँदै
सुर्खेतका ग्रामीण भेगमा बीउ राखिसकिए पनि उपत्यकामा भने अझै राखिएको छैन । वर्षा नहुँदा सिँचाइ कुलो लाग्ने खेतमा मात्र रोपाइँ सुरु छ । जिल्ला कृषि विकास अधिकृत विजयकुमार गिरीका अनुसार पश्चिमका गुटु, विद्यापुर, लगाम र सालकोट, पूर्वका कल्याण, सिम्ता क्षेत्रमा मात्र रोपाइँ सुरु भएको छ । उपत्यकामा भने पानी अभावले बीउ राख्नसमेत समस्या भएको उनले बताए ।
कृषि कार्यालयले बाढी पहिराको मारमा परेका कृषकलाई धानखेतीमा राहत दिन सुख्खा र डुबान क्षेत्रमा हुने १५ टन बीउ उपलब्ध गराएको छ । बाढीबाट क्षति भएका २ सय ९० सिँचाइ कुलो पनि मर्मत गरिएको छ । सुर्खेतमा सिँचाइयोग्य ४ हजार ७ सय हेक्टर र आकासेपानीको भरमा रहेको ९ हजार ९ सय हेक्टर गरी १४ हजार ६ सय हेक्टर खेतमा धान खेती हुन्छ ।
प्यूठानको झिमरुक फाँटमा रोपाइँ भइसकेको छ । आकासेपानीको भरमा खेती गर्ने ठाडा खोलाछेउछाउका खेतमा रोपाइँ गर्न बाँकी छ । झिमरुक फाँट, बरौला, मच्छी र तिघ्रालगायत झिमरुक खोलाले सिँचाइ गर्ने क्षेत्रहरूमा जेठमै रोपाइँ सकिएको हो । मनसुनसँगै जुम्री खोला, छापे खोला र गर्तङ खोला नजिक रहेका खेतमा असारभित्रै सबै ठाउँमा रोपाइँ सकिने कृषि कार्यालयका अधिकृत उमेश श्रेष्ठले बताए ।
बाँकेका किसान उत्साहित
लामो खडेरीले ब्याडसमेत राख्न नपाएका बाँकेका किसान बिहीबार मनसुनी वर्षा भएपछि उत्साहित भएका छन् । जिल्लामा ५२ हजार २ सय हेक्टर जमिनमा खेती गरिन्छ । तर १५ हजार हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । जुन २८ प्रतिशत मात्र हो । ३७ हजार हेक्टर जमिनका किसान आकासेपानीको भरमा खेती गर्न बाध्य रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र प्रधानले खडेरीले बीउ राख्न नपाएका किसान वर्षापछि उत्साहित भएको बताए ।
दैलेखमा २० प्रतिशत रोपाइँ
पानीको सुविधा भएको क्षेत्रका कृषक यतिबेला रोपाइँमा व्यस्त छन् । कृषि विकासका अनुसार २० प्रतिशत खेतमा रोपाइँ भइसकेको छ ।
आकासेपानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता भएका कृषकले बल्ल बीउ राख्न सुरु गरेको कृषि प्रसार अधिकृत नरेन्द्र थापाले बताए । ‘खोला, नदीनाला आसपासका कृषकले समयमै बीउ राखेर रोपाइँ गरिसकेका छन् । कोही गर्दै छन्,’ उनले भने, ‘वर्षातको भर पर्ने कृषकहरू बल्ल खेतमा पुग्दैछन् ।’
वर्षातसँगै रोपाइँको चटारो
बर्दियामा अपेक्षाकृत वर्षा नभए पनि खेत जोत्ने र पानी परेपछि किसानलाई बीउ राख्न र खेत हिल्याउन चटारो भएको छ । सिँचाइ हुने राजापुर टप्पुसहित १५ प्रतिशत खेतमा रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख हिक्मतकुमार श्रेष्ठले बताए ।
राजापुर पश्चिम नेपालको धानको उत्पादन भण्डार मानिन्छ । राजापुर टप्पुको १४ हजार हेक्टरमा सिँचाइ सुविधा रहेको छ । यसैगरी सिँचाइ सुविधा भएको सूर्यपटुवा, ढोढरी, बगनाहा, नेउलापुर, ठाकुरद्वारा गाविसमा फाटफुट रोपाइँ भए पनि वर्षात भएपछि किसानहरू खेत जोत्न थालेका छन् । धधवार, मगरागाडी, पदनाहालगायत गाविसमा किसानहरू वर्षातसँगै बीउ काढ्न व्यस्त छन् ।
‘रोपाइँका लागि खासै पानी परेको छैन,’ मोहम्मदपुर ७ का अकरम गद्दीले भने, ‘जोत्नसम्मका लागि पानी परेको छ ।’ सिँचाइ सुविधा नभएका मैनापोखर, कालिका, मोहम्दपुरलगायत गाविसमा मनसुनी वर्षाले किसानलाई खेतमा व्यस्त गराएको कृषि विकास कार्यालयले जनाएको छ । विगत एक दशकदेखि जिल्लामा ४५ हजार ५ सय हेक्टर क्षेत्रफलमा किसानले धान लगाउँदै आएका छन् । दुई वर्षदेखि धान खेतीको जग्गा बढेर ५५ हजार हेक्टर भएको छ । यस वर्ष राधा चार, मन्सुली, सावित्री, जानकी, मकवानपुरलगायत १२ जातका धानका ब्याड किसानले लगाएका छन् ।
देउखुरीमा ३० प्रतिशत रोपाइँ
असार दोस्रो सातासम्म दाङका धेरै फाँटमा रोपाइँको खासै सुरसार छैन । सिँचाइ सुविधा भएको देउखुरी उपत्यकामा ३० प्रतिशत र दाङमा १२ प्रतिशत मात्र रोपाइँ भएको वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले बताए ।
हालसम्म यति मात्रै रोपाइँ हुनु निकै कम भएको उनले बताए । ‘असार १५ भित्र सबै रोपाइँ भइसक्नुपर्ने हो तर यति बेलासम्म आधा पनि भएको छैन,’ उनले भने, ‘सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ सम्भव भएको छ । अरू ठाउँ सबै बाँझै छन् ।’ दाङमा ३७ हजार हेक्टर खेतमा रोपाइँ हुने गर्छ ।
सल्यानमा आधाआधी रोपाइँ
मनसुन भित्रिएपछि आकासेपानीको भरका खेतमा पनि रोपाइँ हुन थालेपछि किसानहरू खुसी छन् । असार दोस्रो सातामा झन्डै आधाआधी फाँटमा रोपाइँ सकिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार २ हजार २ सय हेक्टर खेतमा रोपाइँ भइसकेको छ । पानी परिरहेको र खोलाको पानी नसुकेकाले अघिल्लो वर्षभन्दा धेरै छिटो रोपाइँ भएको हो ।
वरिष्ठ कृषि विकास अधिकृत टेकप्रसाद लुइँटेलका अनुसार शारदा खोला आसपास भएका बरला, ढोडचौर, भट्टाचौर, श्रीनगर, लान्ती त्रिवेणी, काभ्रा, रामपुरका अधिकांश ठाउँका खेतमा छिट्टै रोपाइँ भएको छ । सल्लीबजार आसपासका क्षेत्रमा भने ठूलो पानी परेमा मात्र कुलो लाग्ने भएकाले रोपाइँमा ढिलाइ भएको छ ।     
रोल्पामा आकाशको भर
यो वर्षको मनसुनी वर्षा सुरु भइसके पनि रोल्पाका अधिकांश खेतमा अझै पानी पुगेको छैन । आकाशे वर्षाको भरमा खेती गरिने खेत बाँझै छन् । कतिपय स्थानमा बीउ राख्ने पानीसमेत नभएपछि खेत बाँझै भएका हुन् ।
रोल्पाका मध्य र पश्चिमी भेगका अधिकांश कृषकले आफ्नो खेत यो वर्ष बाँझै हुने बताए । ‘बीउ राख्ने पानी नभएपछि खेतमा धान नफल्ने निश्चित छ ।’ जुँगारका कृषक नरबहादुर घर्तीमगरले भने, ‘यो वर्षको वैशाख र जेठमा पानी नपरेकाले ब्याडमा बीउ नै राख्न सकिएन ।’
जिल्लामा वर्षभरि र मौसमी गरी सिँचित क्षेत्रफल २ हजारदेखि ३ हजार हेक्टर मात्र रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस्तै रोल्पामा सिञ्चित जग्गा करिब ३ हजार ९ सय ३० र अर्धसिञ्चित जग्गा २ हजार ५ सय ५४ हेक्टर रहेको छ । तर रोल्पामा यो वर्ष करिब ३५ प्रतिशतमा मात्र धान खेती गरिएको छ । यस्तै पानी नपरेकाले कालिकोटमा भने हालसम्म २० प्रतिशत मात्र रोपाइँ सकिएको छ । सिँचाइ सुविधा भएका पाखा, चिल्खाया, फोई, फुकोट, मुम्रा, ओदानकुलगायत गाविसमा २० प्रतिशत रोपाइँ सकिए पनि आकासेपानीको भरमा रोपाइँ गर्नुपर्ने अधिकांश गाविसमा रोपाइँ सुरु नभएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यहाँका मान्म, दाहा, छाप्रे, बदालकोट, भर्तालगायत गाविसमा बिहीबारदेखि पानी पर्न थालेपछि रोपाइँ सुरु भएको प्राविधिक सहायक कलबहादुर शाहीले बताए । कालिकोटमा खडेरीले केही गाविसमा धान ब्याड पनि सुकेकाले पुन: बीउ उमार्नुपर्ने अवस्था रहेको कृषक दानबहादुर शाहीले बताए ।
रोपाइँ सकियो,गोडमेल सुरु गर्न पानी अभाव
जुम्ला– सिँजा फाँट लगाएर धान फल्ने अधिकांश खेतमा एक महिनाअघि नै रोपाइँ सकिएपछि जुम्लाका किसानहरू गोडमेलको सुरसारमा छन् ।
रोपाइ सकिए पनि पर्याप्त पानी नपरेकाले रोपो राम्ररी हुर्किन सकेको छैन । त्यसले गोडमेल सुरु गर्न केही दिन पर्खिनुपर्ने किसानहरू बताउँछन् । खेतमा रोपाइँ सकेको तेस्रो सातादेखि पाँचौं साता सम्ममा पहिलोपल्ट खेतको गोडमेल गरिन्छ । धानसँगै सरेका झार उखेलेर फाल्न खेतमा पर्याप्त पानी चाहिन्छ । तर खेतमा प्रशस्त मात्रामा पानी नभएकाले धानको बीउभन्दा ठूलो झार भइसक्दा पनि गोड्न नसकेको स्थानीय तातोपानी ८ की कृषक लग्नमाया उपाध्यायले बताइन् । उनले भनिन्, ‘खेतमा पानी भएपछि धानको बीउ र झार छान्न सजिलो हुन्छ । तर खेतमा पानी नभएकाले बीउ र झार उस्तै छ ।’
जुम्लामा खेतीयोग्य जमिनको ९५ प्रतिशत खेतमा धान रोपाइँ भइसकेको छ । त्यसमा २५ प्रतिशत खेतमा जुम्ली कालीमार्सी धान रोपिएको छ भने बाँकी ५० प्रतिशत खेतमा चन्दननाथ १ र ३ जातको धान रोपिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment