Wednesday, October 14, 2015

बाहिरिने यात्रु तीन गुणा न्यून

काठमाडौं- दसैंका लागि उपत्यकाबाट बाहिरिने यात्रु संख्या गत वर्षको तुलनामा तीन गुणा घटेको छ। भारतको अघोषित नाकाबन्दीका कारण लामो दुरीमा चल्ने सार्वजनिक सवारी संख्या कमी हुँदा उपत्यका छाड्ने यात्रु संख्या घटेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार गत वर्ष घटस्थापनाभन्दा पाँच दिनअघिको अवधिमा उपत्यकाबाट करिब ४ लाख २० हजारले उपत्यका छाडेका थिए। तर, यस वर्ष त्यही अवधिमा मुस्किलले १ लाख ३५ हजारले उपत्यका छाडेका छन्। घटस्थापनाको अघिल्लो दिन गत वर्ष उपत्यकाबाट ९२ हजार ६९ जना यात्रु बाहिरिएका थिए। गत वर्ष ६ हजारभन्दा बढी यात्रुवाहक बस र केही रिजर्भ बसमार्फत अधिकांश घर फर्केका थिए। यस वर्ष घटस्थापनाको अघिल्लो दिन सोमबार बेलुकी ८ बजेसम्म उपत्यकाबाट करिब ३५ हजारमात्र बाहिरिएका छन्।

तराई बन्द र भारतको अघोषित नाकाबन्दीका कारण उत्पन्न इन्धन अभावले उपत्यकाबाट बाहिर जानेको संख्या न्यून भएको महाशाखा प्रमुख जयबहादुर चन्दले बताए। उनका अनुसार सोमबार लामो दुरीका सवारीलाई विशेष व्यवस्था गर्दै इन्धन उपलब्ध गराएपछि यात्रु संख्या बढीरहेको छ।

लामो दुरीका सवारीलाई इन्धनको विशेष व्यवस्था गर्नुअघि उपत्यकाबाट २५ हजार हाराहारीमा मात्र यात्रु बाहिरिएका थिए। तर, सोमबार यात्रु संख्या १० हजारभन्दा बढीले वृद्धि भएको छ।

संख्या बढेपछि महाशाखाले यात्रुको सहजता र सवारीसाधनको उचित व्यवस्थापन गर्न नयाँ बसपार्क र कलंकीमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। यात्रु र सवारी संख्या बढ्दै गएपछि महाशाखाले यात्रुका समस्या सुन्न र समाधान गर्न सातदोबाटो, कोटेश्वर, तिलगंगा, गौशाला, जोरपाटी, स्वयम्भू, नागढुंगा, बल्खु, पुरानो बसपार्क र सुन्धारामा नागरिक सहायता कक्ष स्थापनाको तयारी गरेको छ। सहायता कक्षमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जनपद प्रहरी, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधि रहने छन्।

सहायता कक्षले यात्रुलाई सुरक्षा प्रदान गर्ने, टिकटअनुसार रकम लिए नलिएको चेकजाँच गर्ने, टिकट काउन्टरमा भाडा दरको बोर्ड अनिवार्य राख्न लगाउने वा सम्भव भएसम्म नागरिक डेस्क बोर्डनजिक भाडादर उल्लेखित कागजात राख्न लगाउने, फर्जी तथा दोहोरो टिकट काट्नेमाथि निगरानी राख्ने, यात्रुको पीरमर्का केलाएर सहयोग गर्ने छ।

सरकारी तथ्यांक अनुसार दसैंका बेला २०–२५ लाख मानिस उपत्यकाबाट बाहिरिन्छन्। उपत्यकाबाट बाहिरिने यात्रुले कोटेश्वर, तिलगंगा, नयाँ बसपार्क, सुन्धारा, गौशाला, चाबहिल, बल्खु, कलंकीलगायत स्थानबाट सवारीसाधन पाउने छन्।

No comments:

Post a Comment