Wednesday, October 14, 2015

चरम गरिबीदेखि सिहंदरबारसम्म

झापा–शारीरिक रुपमा जोतिनुपर्ने कामका लागि सधैँ अल्छी गर्ने स्वभावका केपी ओली त्यस्ता काम साथीहरुलाई गर्न लगाउँथे। उनलाई नजिकैबाट चिन्नेहरुका अनुसार आफू नभिडे पनि कुन काम कसरी गर्ने भनेर साथीहरुलाई सिकाउन चाहिँ उनी सधैँ अघि सर्थे।
'बिहान अबेरसम्म सुत्नुपर्ने, पढाई र अन्य काममा भन्दा राजनीतिक गतिविधिमा बढ्ता रुची थियो', ओलीको प्रारम्भिक राजनीतिक यात्राकै बेलादेखि उनीबारे जानकार एमाले नेतृ विशेश्वरा दाहाल भन्छिन् 'राम्ररी मिलाएर बोल्न जान्ने उहाँमा अरुलाई कन्भिन्स गराएर काम लगाउने खुबी प्रचुर थियो । ' कुनैबेला चरम गरिबीले सताइएर अर्काको घरमा शरण लिन बाध्य बनेका तिनै ओली त्यही नेतृत्वकारी क्षमताकै बलमा नेपालको ३८ औं प्रधानमन्त्री बनेका छन्। त्यो पनि कुनैबेला भारतपरस्त भनेर निकै आलोचित उनी यसबेला भारतीय संस्थापनसँग सिधा टक्कर दिएर प्रधानमन्त्री बनेको जस पाउने अवस्थामा छन् ।

झापा शरणामतिको बगरबाट सुरु भएको उनको संघर्षशील यात्राले जसै मुलुकको कार्यकारी प्रमुखको गन्तव्य पायो, यहाँसम्म आइपुग्दा उनले संघर्ष र धैर्यतालाइई मुख्य हतियार बनाउको उनका सहयात्रीहरु बताउँछन्। 'चरम अभावको जीवनबाट संघर्ष, जेल र राजनीतिक यात्रामा उहाँको लगन र धैर्यता मुख्य हतियार थिए', झापा विद्रोहदेखि नै उनका सहयात्री रहेका एमाले नेता नरेश खरेल भन्छन् 'देश र जनताका लागि निरन्तर संघर्ष गर्न सक्ने उहाँको खुबी अनुकरणीय छ ।'

तेह्रथुमबाट झापा झरेर शरणामतिमा खेतीपाती गर्दै गुजारा चलाइरहेको परिवारको घरखेत कनकाईको बाढीले बगाएपछि केपी ओलीको परिवार लगभग सुकुम्बासीको हैसियतमा झर्यो । भएको घरखेत खोलाले लगेपछि लेखपढको त कुरै छाडौं, परिवारलाई छाक टार्ने समस्याले बढी सताउँथ्यो । त्यहीबेला उनी रामनाथ दाहालको घरमा बसेर घैलाडुब्बा स्कुल पढ्न थाले । रामनाथ दाहाल, तत्कालीन मालेले योजना बुनेको झापा विद्रोहका नेता थिए । विशेश्वरा तिनै रामनाथकी पत्नी हुन् । उनका अनुसार कक्षाको पढाईमाभन्दा अन्य गतिविधिमा रुची राख्ने उनी सानैदेखि तिख्खर थिए ।

रामनाथ दाहाल केपीका राजनीतिक गुरु बराबर थिए । उनकमै घरमा पाएको सामिप्यले उनी वाम आन्दोलनतिर आकर्षित भए । 'हामी रामनाथको घरमा क्रान्तिको योजनाका लागि बैठक गर्दा केपी त्यहीँ भेटिनु भएको हो', केपी सँगै लामो जेल जीवनसमेत बिताएका नेता खरेल भन्छन् 'त्यसपछि हामी सहकार्यमा सहयात्रामा अघि बढ्यौं ।' उनका अनुसार शुरुमा राधाकृष्ण मैनालीको नेतृत्वमा रहेको आन्दोलन नक्सवादी नेता चारु मजुमदारको विद्रोहबाट शतप्रतिशत प्रभावित थियो ।

जब राधाकृष्ण मैनाली भूमिगत कालमा विरामी परेर पार्टीको सक्रिय नेतृत्वबाट केही समय टाढिए, नेतृत्वको अवसर केपीको काँधमा आएको थियो । २०२९ फागुन २१ मा रामनाथसहित पाँच जनालाई पञ्चायतले जेल सार्ने बहानामा सुखानीमा हत्या गरिसकेको थियो । त्यसैले स्वाभाविक रुपमा नेतृत्व उनको हातमा आयो । 'त्यसैबेला हो केपीले आन्दोलनको पूरापूर रुप परिवर्तन गर्नुभयो', नरेश सम्झिन्छन् 'विदेशी क्रान्तिको सफलता सिक्ने, असफलता फ्याँक्ने आँट गर्नुपर्छ भन्ने उहाँको प्रष्ट अडान थियो । उहाँकै कदमले झापा आन्दोलन परिष्कृत भयो ।' राज्यपक्षबाट पाँच, विद्रोहीबाट आठ जनाको ज्यान लिइएको उक्त विद्रोहमा ५ सय २५ जना पक्राउ परेका थिए । ओली विद्रोहलाई शान्तिपूर्ण आन्दोलनमा रुपान्तरण गनर््ुपर्ने अडानमा थिए । उनको त्यही पुरानो बुझाईकै कारण पनि हुनुपर्छ, अहिले सहकार्य गरेको एमाओवादीको सशस्त्र विद्रोहको सबैभन्दा कटु आलोचक पनि ओली नै थिए ।

२०३० सालदखि ४४ सालसम्म लगातार १४ वर्ष जेल बसेका ओली संकटमा कहिल्यै नआत्तिने उनका निकटका साथीहरु सुनाउँछन् । 'जेलभित्र प्रशस्त लेखपढ गर्ने, पार्टीको योजना बुन्ने काममा उहाँ धेरै लाग्नुहुन्थ्यो', नरेशले भने 'सँगै साथीहरुसँग रमाइलो गर्ने, हाँसखेल गर्ने काम पनि धेरै गर्नुहुन्थ्यो ।' उनका अनुसार जेलभित्रको लामो बसाईमा उनले लेखेका धेरै कविता र उपन्यास प्रहरीले जफत गरेको थियो । तर, खुला राजनीतिमा आउको लामो समयसम्म पनि ओलीले लेखनमा सक्रियता चाहिँ देखाएका छैनन् ।

आफ्नै जिल्लाबाट पढे–बढेर हुर्किएको नेता प्रधानन्त्रीमा निर्वाचित भएपछि उनको गृहजिल्ला झापामा खुशीयाली छाएको छ । खासगरी एमाले वृत्तमा खुशी साटासाट बिहानै देखि शुरु भएको थियो । संसद्बाट उनको ताजपोसी भएपछि त्यो झन् उत्कर्षमा पुग्यो । काँकडभिट्टादेखि दमकसम्म र उनको आफन्तहरु रहेको पृथ्वीनगरसम्मै सथ्नाीयले अबिर दलेर, दिपावली गरेर खुशी व्यक्त गरेका छन् । उनका बुबा र परिवार बस्दै आएको गाउँ पृथ्वीनगर र उनको कर्म क्षेत्र दमकमा खुशीयालीको माहोल छ । 'हाम्रो जिल्लाबासी प्रधानमन्त्री भएको खुशी एकातिर छ', एमाले झापाका अध्यक्ष चिन्तन पाठकले भने 'त्यो भन्दा पनि बढी मुलुकको एक जना कर्मठ नेताको इतिहासले सम्मान गरेको छ । अवसर पनि दिएको छ । हामी यसमा बढी खुशी छौं ।'

वि सं ०८फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मेका उनी २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका हुन् । ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । उनी २०२८ सालको झापा आन्दोलनको नेतृत्वकर्ता मध्ये एक हुन् ।

४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका ओली पहिलो संविधानसभामा झापा ७ बाट पराजित भएका थिए । उक्त चुनावमा व्यहोरेको हारले उनले त्यसबेला पार्टी नेतृत्वको अवसर पनि गुमाएका थिए ।

२०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१मा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्र्वािचत भएका हुन् । त्यसपछि उनी लगातार जीत यात्रामा अग्रसर हुँदै प्रधानमन्त्रीसम्म बनेका छन् ।
- See more at: http://www.nagariknews.com/feature-article/story/47007.html#sthash.TlCXqmRs.dpuf

No comments:

Post a Comment