Monday, October 12, 2015

नाका अवरोध भारतले होइन मोर्चाले गरेको हो: महतो

आश्विन २२, २०७२- सद्‍भावना पार्टीका अध्यक्ष तथा मोर्चाका नेता राजेन्द्र महतोले भारतले नाकाबन्दी नगरेको भन्दै नेपाल-भारत नाकामा आफूहरुले अवरोध गरेको बताएका छन् । तर, सरकार दायित्वबाट भाग्न भारतले नाकाबन्दी गरेको आरोप लगाईरहेको उनले बताए ।
‘भारतले नाकाबन्दी गरेको हो भने पेट्रोलियम र मालबाहक केही गाडीहरु कसरी नेपाल भित्रिरहेका छन् ?,’ शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार भेटमा उनले प्रश्न गर्दै भने,‘मोर्चाले निर्णय नै गरी नाकामा अवरोध गरिरहेको छ । तर, सरकार मधेसीको मुद्दालाई मोड्न भारतले नाकाबन्दी गर्‍यो भनेर हल्ला फिजाई रहेको छ ।’
उनले आफूहरुको नाका केन्द्रित आन्दोलनका क्रममा सरकारले सुरक्षा दिएर गाडी भित्रिउन नसकेको र दोष भारतमाथि थोपरिरहेको आरोप लगाए । ‘आन्दोलनका कारण असुरक्षा बढेको छ । त्यसैले भारतले मालबाहक गाडी पठाउन डराएको हो,’ उनले भने,‘सुरक्षा दिननसक्ने र दोष अरुमाथि थुपार्न मिल्छ ।’
उनले आफूलाई राष्ट्रघाती भन्नेहरु नै राष्ट्रघाती भएको आरोप लगाए । ‘अधिकार माग्दा राष्ट्रघाती भन्न मिल्छ ?,’ उनले भने ।
अध्यक्ष महतोले जारी आन्दोलन वारपार गरेरै छोड्ने चेतावनी दिएका छन् । बिहिबार साँझ ६ वजे भारतीय बाटो हुँदै नेपालगन्ज नाकामा धर्ना दिइरहेका मोर्चाका कार्यकर्ताहरुलाई भेट्न आई पुगेका उनले केहीबेरमा हुने मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
शुक्रबार नेपालगन्जमा गरिएको पत्रकार भेटघाटमा सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो । तस्बिर : ठाकुरसिंह थारु/ईकान्तिपुर

No comments:

Post a Comment