Friday, October 16, 2015

दसैं विशेष कथा : साउदी

आश्विन २९, २०७२- आठ वर्षपछि दमन्तीका बा गोविन्द साउदीबाट नेपाल फर्केका थिए । केही दिनपछिदेखि नै दमन्तीकी आमाले लोग्नेलाई शान्तिटारमा नबस्ने भन्दै करकर गर्न थालेकी थिइन् ।  शान्तिटारमा उनीहरूको सानो झुप्रो थियो । साउदीबाट कमाएको पैसाले यही आधा बिघा जग्गा किनेर तरकारी खेती गरेर बस्ने रहर थियो दमन्तीका पितालाई  । ‘मेरा दिदीबहिनी मंगलवारे बजारमा दिनभरि खुट्टा हल्लार बस्छन् । म भने यो कुहिएको हिलोमा गाडिनुपर्छ ।’ अन्तत: उनी बाध्य भए । शान्तिटारको उब्जाउ आधा बिघामा तरकारी खेती गर्ने रहर त्यागे र मंगलबारे बजार नजिकै पुलचोकमा पिच सडकसँगै जोडिएको एक कट्ठा घडेरी किने । त्यही ससानो घर बनाए । ‘जहानको सधैंको गनगन त मेटियो तर अब यो घरले मात्रै खान दिँदैन ।’ उनी यस्तै कुरामा दिनरात पिरोलिन थाने । समस्याको समाधान लिएर एक दिन दमन्तीका मामा झुल्किए, ‘भिनाजु, झर्ना चिया बगानमा चौकीदारी गर्ने मान्छे चाहिएको छ । तपाईंजस्तै हट्टाकट्टा मान्छेको खाँचो छ । गर्ने भए कुरो राखिदिन्छु । मेरो साथी त्यहाँको म्यानेजर छ ।’ दमन्तीकी आमालाई के चाहियो र ? कुरो भुइँमा झरिनसक्दै भनिन्, ‘हुन्छ हुन्छ । तुरुन्तै कुरो गरिदेऊ भाइ ।’ ...... एक घन्टाको हिलोमैलो बाटो हिँडेर पुगिने स्कुल दस मिनेटमै पिचरोडमा चप्पल पड्काउदै हिँड्न पाउँदा दमन्ती कम्ता खुसी भइन् । ऊ अब बजारिया बन्न बोलीदेखि लवाइखवाइ र हिँडाइमा सकेसम्म नक्कल पार्न थाली । शान्तिटारका उसका साथी एक घन्टा धूलोमैलो बाटोमा हिँडेर आउँथे । उनीहरूका खुट्टा र स्कुल ड्ेरस धूलाले लपक्कै पुरिएका हुन्थे । अनुहारभरि पसिनाको टाटो बसेको हुन्थ्यो । तर दमन्ती भने सुक्सुकाउँदी भएर घरबाट निस्कन्थी । उसका साथीहरू भन्थे, ‘बजारमा बस्न थालेदेखि त दमन्ती साँच्चै सहरिया भई हौ । हेर न हातखुट्टा कति चिल्ला । अनुहार पनि कति छिट्टै गोरो देखिन थालो ।’ झन् राम्री हुने रहरले दमन्तीले बिहान बेलुकै बेसनको पिठो र मायालु साबुनले मुख धुन थाली । सबेरा क्रिम बिहान बेलुकै लगाउन थाली । हातखुट्टा पनि खुब मेहेनत गरेर धुन्थी । छिट्टै उसले आफ्ना नङ र फुटेका कुरकुच्चामा जमेर रहेको शान्तिटारको माटो सदाका लागि पखाली । ऊ अर्कैअर्कै देखिन थाली । उसको बोलीवचनबाट शान्तिटार मेटिएर क्रमश: सहर स्थापित हुन थाल्यो । दमन्तीको पढाइ भने मज्जाले खस्किन थाल्यो । शान्तिटारमा हुँदा बिहान–बेलुका गाईलाई एक डोको घाँस नकाटी धर नपाउने ऊ मंगलबारे आएपछि निकै फुर्सदिली भई । बिहान उठेर खेतबारीमा निस्कनु नपरेपछि आमाको पनि खासै काम भएन । अब दमन्तीले भान्साको काम पनि गर्नु नपर्ने भयो । ऊ पढ्नभन्दा बढ्ता ऐना हेर्न थाली । स्कुल जाँदा पनि आफ्नो अनुहार हेर्न मिल्ने सानो ऐना किताबको चेपमा लुकाएर लान थाली । गोलो अनुहार, लाम्चा आँखा । उचाइ पनि ठिक्कको । खँदिलो ज्यानकी थिई दमन्ती । हँसिली र चाँडै अरूसँग घुलमिल हुन सक्ने भएकीले छिमेकका नयाँ साथीहरूसँग छिट्टै दोस्ती भइहाल्यो उसको । स्कुल जाँदा पनि पहिलेका साथी छोडेर बगानका म्यानेजरका छोरीहरूसँग हिँड्न थाली । उनीहरू पढाइभन्दा धेरै फिलिमका गफमा रमाउँथे । दमन्तीलाई पनि फिलिममा हिरोइनले बोल्ने डाइलग त पूरै कण्ठ हुन थाल्यो । शान्तिटारमा हुन्जेल परीक्षामा कहिल्यै दाग लागेन दमन्तीको । तर मंगलबारे आएपछि नौ कक्षामा तीन विषयमा रातो लाग्यो । एक दिन मंगलबारे बजारमा चटपटे खाँदै गर्दा उसको सन्तुसित आँखा जुधे । आँखाको उज्यालो ओठसम्म आयो र मुस्कान बनेर अनुहारभरि छरियो । सन्तु पनि हाँस्यो । धेरै कुरा त भएन तर चटपटेको पैसा भने सन्तुले तिरिदियो । त्यतिबेलै उसको मनको ढोकाको चुकुल खुल्यो र त्यहींबाट सन्तु उसको दिलमा प्रवेश गर्‍यो । सन्तु झर्ना चिया कमानमै दमन्तीका बाउको अन्डरमा काम गथ्र्यो । ऊ दमन्तीभन्दा केही वर्ष जेठो हुँदो हो । पहिलो भेट भएको दोस्रो दिन नै बगानको केही काम परेर ऊ दमन्तीका बालाई खोज्दै उसको घरमै आएको थियो । दमन्ती घरअगाडिको सितारा, मुसुण्डो र जर्बेरा फूलमा पानी हाल्दै थिई । आमा घरमा थिइनन् । उसले आफैं चिया पकाई । सन्तुका हातमा चियाको गिलास थमाउँदा उसका आँखा फेरि सन्तुका आँखामा गएर टक्क अडिए । फेरि दुवैको आँखाको उज्यालो उनीहरूको ओठसम्म आयो र पुन: मुस्कान बनेर अनुहारभरि छरियो । सन्तु अलिकति आत्तियो । उसको हातमा भएको तातो चियाको गिलास भुइँमा बजारियो । दमन्तीको मुखबाट हाँसोका पर्रा छुटे । सन्तु भुतुक्कै भयो । जाने बेला उसले दमन्तीका हातमा एक मुठ्ठी पानी अमला राखिदियो । अमला मुखमा हालेपछि दमन्तीको मनमा मायाको गुलियो रसायो । खँदिलो ज्यानको थियो सन्तु । अलिक कालो वर्णको । जाँगरिलो र इमानदार भएकैले बगानमा सन्तुलाई सबैले मन पराउँथे । दमन्तीका बुबाले अह्राएको काम ऊ फटाफट गथ्र्यो । दमन्तीका बुबाले नभ्याएका बेला हाटबजारबाट सरसौदा किनेर ल्याउने सबै काम उसैले गरिदिन्थ्यो । उसको हँसिलो मुहार र भरिलो शरीरले दमन्तीलाई उत्ताउलो बनाइसकेको थियो । सन्तु पनि दमन्तीलाई हेर्न कामै नपरी पनि उसको घर अगाडिको बाटो ओहोरदोहोर गर्न थाल्यो । ..... मंगलबारको दिन थियो । स्कुलपछि दमन्ती सरासर बजारतिर लागी । हनुमान मन्दिरको छेउमा सन्तु भेटियो । बिस्तारै साथीहरूको हूलबाट अलग्गिई दमन्ती र सन्तुलाई खुसुक्क भनी, ‘आज फिलिम हेर्न जाऊँ ल ?’   दमन्तीको प्रस्ताव उसले सजिलै स्विकार्न सकेन । उसलाई कता कता अप्ठेरो लाग्यो । किनभने यतिबेला उसको खल्तीमा रकमको अलिक सर्टेज थियो । दमन्तीले कुरो बुझेझैं गरी र भनी, ‘मसँग पैसा छँदैछ । घरमा कसैले थाहा पाउँदैनन् ।’    त्यसपछि सन्तुले दमन्तीको प्रस्ताव स्विकार्‍यो । फिलिम हलबाट निस्केर उनीहरू सरासर उकालो लागे । बेलाबेला दुवै एकअर्कालाई सुटुक्क हेर्थे । बेलाबेला दुवैका कुइना एकअर्कासँग ठोक्किन पुग्थे । दुवैको शरीरमा करेन्ट दौडिएझैं हुन्थ्यो । मर्सा पुल तरेपछि दमन्तीले सन्तुको हात समातेर डाइरेक्ट सोधी, ‘मसँग बिहे गर्छौ ?’ रातभरि सन्तु निदाउन सकेन । उसलाई उकुसमुकुस भइरह्यो । दमन्ती खाँटी बाहुनकी छोरी थिई र सन्तु मगर केटो । दोधार दोधारमै उसले रात काट्यो । रिमरिम उज्यालो नहुँदै दमन्ती एउटा झोला बोकेर उसकै कोठामै पो आइपुगी । अब भने सन्तुलाई हिम्मत आयो । उसले दमन्तीलाई कँसिलो अंगालो हाल्दै भन्यो, ‘म तिमीलाई जीवनभर माया गर्छु दमन्तु । चाहे जे होस्, म अब तिमीलाई एकपल पनि छोड्ने छैन । मा कसम ।’ त्यसपछि आफ्ना अलिअलि भएका लुगाफाटो पोको पार्‍यो र दमन्तीको हात समातेर बाटो लाग्यो सन्तु । बिहानको कुमारी उज्यालो जवान हुँदासम्म उनीहरू काँकरभिट्टा पुगिसकेका थिए । सुरुमा त दमन्तीका बुबा भन्दै हिँड्थे, ‘त्यो सन्ते मगरलाई भेटूँ न मात्तै । त्यसको लादी निस्किने गरी ननिमोठी कहाँ छाड्छु र ?’ केही दिन यताउता भौँतारिएपछि सन्तु र दमन्ती फर्केर मंगलबारेमा नै आए । झर्ना चिया बगान नजिकै एउटा सानो चियापसल सुरु गरे । यतिन्जेल दमन्तीका बाको रिस शान्त भइसकेको थियो ।   दमन्ती र सन्तु एकछिन पनि छुट्टिँदैनथे । दमन्तीले खाना पकाउँदा सन्तु धाराबाट पानी ल्याउँथ्यो । बिहान उठेर चुलामा आगो जोर्ने काम सधैं ऊ आफैँ गथ्र्यो । भन्थ्यो, ‘दमन्तु धूवाँ सहन सक्दिन ।’   सन्तु र दमन्तीको प्रेम देखेर सबै छक्क पर्थे र भन्थे, ‘यस्तो जोडी त यो ठाउँमा कोही छैन । यिनीहरू त ढुकुरकै भालेपोथी हुन्  ।’ ...... पत्तै नपाई दुई वर्ष बित्यो । दमन्ती फक्रेको काउलीझैं गमक्क खुसी देखिन्थी सधैं । सन्तु दमन्तीको मायाले गर्दा घडी हेर्न बिर्सन्थ्यो र दिनरात बितेको पत्तो पाउँदैनथ्यो । आफ्ना वरपरका धेरै युवा धन कमाउन साउदी जान थाले । सन्तु यो सब हेरिरहन्थ्यो । ऊ पनि दमन्तीलाई राम्रा लुगा र गहना लगाएको हेर्न चाहन्थ्यो । चियापसलबाट आएको थोरै पैसाले त्यो कहिल्यै सम्भव नहुने उसले बुझ्दै गयो । दमन्तीलाई सुखले पाल्न नसकेको पीडाले ऊ भित्रभित्रै पिरोलिन थालेको थियो । अझ सन्तान थपिएपछि के हालत होला भन्ने भयले उसको अनुहार सधैं मलीन देखिन थाल्यो । एकदिन दमन्तीले उसको छातीमा टाउको अड्याउँदै लाडिँदै सोधी, ‘तिमी अचेल खुसी छैनौ नि । के भयो भन न ? तिम्रो अनुहार देखेर मलाई कस्तो पिर लाग्छ ।’ सन्तुले मनको कुरा भन्यो । ‘अस्ति भर्खरजस्तो लाग्छ भरते साउदी गएको । रिन तिरीवरी एक कठ्ठा जमिन पनि जोडिसकी उसकी स्वास्नीले । मलाई पनि यहाँ बसेर केही नहुने रहेछ भन्ने लाग्दैछ हौ । तर तिमीलाई एक्लै छोडेर कसरी जाऊँ दमन्तु ?’ दमन्ती एकछिनसम्म ट्वाल्ल परेर सन्तुको अनुहार हेरिरही । सन्तु पनि केही नबोली टोलाइरह्यो । एकछिनपछि दमन्ती बोली, ‘भरतकी स्वास्नी पनि त एक्लै छे । तिमी जान्छौ भने म एक्लै बस्न सक्छु । मेरो पिर नगर । भरतकी स्वास्नी रुकु बसेकै घरमा डेरा लिन्छु । मिलनसार पनि छे । केही पर्दा सहयोग गर्छे ।’    प्यारी दमन्तुले हिम्मत दिएपछि दलाल लगाएर ऊ साउदीतिर लाग्यो । सन्तु गएपछि दमन्तीको मन उदास भयो । धेरै दिनसम्म ऊ टोलाइरही । आफ्नो प्यारो मायालुको वियोगले उसलाई भोक पनि लागेन । धेरै रातहरू रोएरै बिताई । उता सन्तुको हालत पनि खासै उत्साहजनक थिएन । आफ्नी प्राणप्यारीलाई एक्लै छोडेर यति टाढा आउनुपर्दा ऊ वियोगले दिनदिनै खिइँदै गयो । धेरै दिनसम्म त उसलाई होमसिक भइरह्यो । तर बिस्तारै उसले आफूलाई सम्हाल्यो र कामतिर ध्यान दिन थाल्यो  । टाढा भएपछि उनीहरूको माया अझ गाढा भएर आयो । महिनामा चार पाँचवटा चिठी आदानप्रदान हुन्थ्यो । महिना मरिसक्दा सन्तुले पैसा पठाइहाल्थ्यो । भन्थ्यो, ‘कम्पनी राम्रो छ । पैसा धेरै नभए पनि काम गाह्रो छैन ।’ हप्तैपिच्छे उनीहरूको फोनमा कुरा हुन्थ्यो । दमन्ती पनि खुसी थिई । ऊ हरेकपटक फोनमा लाडिँदै भन्थी, ‘छिट्टै आउन ल ? तिमीबिना त निद्रै लाग्दैन मलाई ।’   तीन वर्षसम्म साउदीमा काम गर्ने र त्यसपछि नेपाल फर्किने भन्थ्यो सन्तुले । तर चार वर्ष बितिसक्दा पनि फर्केर आएन । भन्थ्यो, ‘साहु राम्रो छ । अब एक वर्ष बस्छु ।’   दमन्तीका दिन त यसो त्यसो बित्थे । तर रात बित्न गाह्रो हुँदै गयो । ऊ पहिलेजस्तो हाँस्न छोडी । उदास रहन्थी जतिबेलै । कसैका लोग्नेस्वास्नी जिस्केको देख्दा लुकीलुकी हेर्थी । र, एक्लै निसास्सिन्थी । लोग्नेको नियास्रोले उसलाई खर्लप्पै खान थाल्यो । फोनमा पनि पहिलेजस्तो रमाइला कुरा हुन छाडे । फोन पनि पातलिँदै गयो । यस्तैमा एकदिन दमन्तीको भेट भो झर्ना चिया बगानमा चियापत्ती लिन आउने ट्रक ड्राइभरसँग । एकदिन ड्राइभरले उसलाई भन्यो, ‘लौ, तिमीलाई त थाहै रहेनछ । सन्तुले उतै साउदीमै बिहे गरिसकेको छ । नत्र यतिका वर्षसम्म एकपटक त आउँथ्यो नि ।’ दमन्ती झसंग भई । ड्राइभरको कुरा उसलाई हो जस्तै लाग्यो । नत्र तीन वर्षमा फर्किन्छु भन्ने मान्छे पाँच वर्षसम्म पनि फर्किने कुरा किन गर्दैन ? हप्तामा एउटा चिठी पठाउने मान्छेले अचेल छ महिनामा पनि किन चिठी पठाउँदैन ? दिन बिराएर फोन गर्ने मान्छे, अचेल महिनौं किन फोन गर्दैन ? फोनमा पहिला दमन्तु भन्थ्यो, अचेल पराईले जस्तो दमन्ती किन भन्छ ? ड्राइभरको कुरा सही लाग्यो उसलाई । उसको मनमा प्रतिशोधको आगो दन्कियो । ऊ त्यही ड्राइभरको पछि लागेर हिँडी । ड्राइभरसँग हिँडेको पाँचौं दिन सन्तु साउदीबाट आइपुग्यो र ‘दमन्तु’ भन्दै ढोका ढक्ढक्यायो । तर ढोका खुलेपछि उसकी दमन्तु उसलाई छाडेर हिँडिसकेको यथार्थ बोध भयो । ऊ ढोकैमा मूच्र्छा पर्‍यो । .......   स्वास्नीको वियोगमा रोईरोई हिँडेको सन्तुलाई देखेर छरछिमेकीले अर्को बिहे गर्न दबाब दिन थाले । सबैले भने, ‘अर्कोसँग हिँडेकी स्वास्नीको याद गरेर हुन्छ ? माया भए पर्खेर बसिहाल्थी नि । त्यस्ती नकचरीलाई सम्झेर आफ्नो जिग्दगी बिगार्नु हुँदैन ।’ सन्तुले छरछिमेकको कुरा मान्यो र बिहे गर्‍यो । ड्राइभरले झूटो बोलेर आफूलाई फसाएको थाहा पाएपछि उता दमन्ती मर्नु न बाँच्नु भई । सन्तुले पठाइदिएको पैसा पनि सबै सकिदियो ड्राइभरले । आमाले किन्देको र सन्तुले पोहोर दसैमा पठाइदिएको गहना भने उसले कसोकसो लुकाएर राखेकी थिई । त्यही लिएर हिँडी एकदिन ऊ र फेरि फर्केर गइन ड्राइभरकहाँ । ड्राइभरले पनि उसको खोजी गरेन । केही महिनापछि साउदीबाट फर्केकी एउटी केटीसित बिहे गर्‍यो उसले पनि । यता, सन्तुले बिहे त गर्‍यो । तर उसको मन कहिल्यै खुसी हुन सकेन । स्वास्नी सधैं गुनासो गर्थी, ‘माया गर्न नजान्नेले किन बे गर्नु ? निष्ठुरी मोरो ?’ रातदिन स्वास्नीको गनगनले सन्तु दिक्दारिन थाल्यो । घरमा पनि झोक्राएर बस्थ्यो । विदेशबाट फर्केपछि उसले धेरै ठाउँ काम गर्‍यो । बसको खँलासीदेखि भरियासम्म भयो । इँटाभट्टादेखि सिमेन्ट कारखानासम्मको धूलोमैलो खायो । तर काममा ध्यानै जान्नथ्यो उसको । कहीँ टिक्दैनथ्यो । एकदिन सन्तुकी स्वास्नीले भनी, ‘मैले चिया बगानको चौकीदारसँग तिम्रो लागि कामको कुरा गरेकी छु । भोलिदेखि जाऊ । यो पाला पनि कामबाट निकालियौ भने राम्रो हुँदैन ।’ भोलिपल्ट सन्तु मन नलागी नलागी बगानतिर लाग्यो । उसलाई चरम निराशाले गाँजेको थियो । दिक्क मान्दै पत्ती टिप्न थाल्यो । डोको भरिएपछि पत्ती घोप्ट्याउन जाँदा उसले त्यहाँ दमन्तीलाई पनि काम गरिरहेको देख्यो । एकछिन त उसको शरीरले कामै गरेन । एकछिनपछि उसले सोध्यो, ‘कस्तो दुब्लाएकी ?‘   दमन्तीले पनि आँखाभरि आँसु पारेर भनी, ‘तिमी पनि कस्तो दुब्लाएको ?’ फेरि प्रेम भयो उनीहरूको । उनीहरूको आँखाको उज्यालो ओठसम्म आयो फेरि र मुस्कान भएर अनुहारभरि फैलियो । फेरि मंगलबारेबाट भागे उनीहरू । सन्तुकी कान्छी स्वास्नी मुर्मुरिई केही दिन । जो भेट्यो उसैसित भन्थी, ‘त्यो सन्तेलाई भेटुँ न मात्तै । त्यसलाई लादी निस्कनेगरी निचोरिनछु भने के र ।’ तर कोसित के नै थियो र ? सर्वहारा तिनीहरू । दिनभरि कमायो, साँझ खायो । कसले कसलाई निचोर्नु ? निचोरेर के पाउनु ? कुरा आयो गयो भयो । केही दिनपछि सन्तुकी स्वास्नी पनि दलालमार्फत् साउदी गई । मंगलबारे नजिकको बस्ती साउदी जाने र समयमा नफर्किनेहरूको बस्ती भएको छ अचेल । हरेक दिन एउटा नयाँ सन्तु साउदीबाट फर्किन्छ यहाँ र आफ्नी दमन्तुसित भन्छ, ‘कति दुब्लाएकी ?’ हरेक दिन नयाँ दमन्ती नयाँ सन्तुसित भनिरहेको भेटिन्छे, ‘तिमी पनि कस्तो दुब्लाएको ?’ झर्ना चिया वगानमा हरेक दिन एउटा नयाँ ड्राइभर पनि देखिन्छ । सन्तुहरू, दमन्तीहरू र ड्राइभरहरूले बनिरहेछ यहाँ एउटा नयाँ समाज । यहाँ हरेकको हातमा छ साउदीको भिसा लागेको मेसिन रिडेबल पासपोर्ट ।  

No comments:

Post a Comment