Wednesday, October 14, 2015

फुटबल खेल-मिलेमतोमा कप्तानसहित पाँच पक्राउ

सागरसहित राष्ट्रिय टोलीका खेलाडी रितेश थापा र सन्दीप राई तथा पूर्वराष्ट्रिय खेलाडी विकाससिंह क्षत्री र अञ्जन केसीलाईपक्राउ गरेको हो।काठमाडौं- फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा पैसा खाएर म्याचफिक्सिङ (खेल–मिलेमतो) गरेको आरोपमा प्रहरीले राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीलाई बुधबार पक्राउ गरेको छ। आठ वर्षयताका अन्तर्राष्ट्रिय खेलमा बुकी (दलाल) सँग मिलेर म्याचफिक्सिङ गरी चाहेजस्तो नतिजा निकालेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले खेल–मिलेमतो आरोपमा खेलाडी पक्राउ परेको यो नेपाली फुटबल इतिहासकै पहिलो घटना हो। अहिलेसम्म यो आशंकामा एन्फाले कसैलाई कारबाही गरेको छैन।

नेपाल प्रहरीले पहिलोपटक हात हालेको यो अपराधमा अनुसन्धानमा संलग्न प्रमुख सर्वेन्द्र खनालले खेल मिलेमतो गरेर राष्ट्रविरुद्ध अपराध गरेकाले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको बताए। उनीहरूलाई राज्यविरुद्धको अपराध ऐनअन्तर्गत अनुसन्धान अघि बढ्ने पनि खनालले जानकारी दिए।

'मुलुकका गहना मानिने खेलाडीले आर्थिक प्रलोभनमा परेर राष्ट्रको इज्जत नै बेचेको सूचना आएपछि अनुसन्धान सुरु गरेका हौं,' खनालले नागरिकसँग भने, 'अहिलेसम्मको अनुसन्धानमा उनीहरूको संलग्नतासम्बन्धी गम्भीर तथ्य आएको छ।'

राष्ट्रिय टोलीकै कप्तानसमेतको संलग्नतामा खेल मिलेमतो हुने गरेको सूचना पाएपछि प्रहरीले संवेदनशील भएर सुरुमा अन्य खेलाडीलाई पक्राउ गरेको थियो। महिना दिनअघि नै अनुसन्धान निचोडमा पुगे पनि मिलेमतोमा सबैभन्दा बढी सक्रिय देखिएका अञ्जन भारतको सिक्किम गएपछि प्रहरीले कसैलाई पक्राउ गरेन। उनी नेपाल आएको सूचना आएपछि पक्राउको क्रम सुरु गरेको थियो। बुधबार बिहानबाट सुरु भएको पक्राउ क्रममा सबैभन्दा पहिला अञ्जन र विकास दुवैलाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो।

उनीहरूसँगको प्रारम्भिक सोधपुछमा सागरको सूचना पुष्टि भएपछि महाशाखा टोलीले बुधबार दिउँसो उनलाई गैरीधाराबाट पक्राउ गरेको थियो। लगत्तै नेपाल पुलिस क्लबका गोलकिपर रितेशलाई पक्राउ गरेको थियो। रितेश असइ हुन्। पक्राउ सबै महाशाखाको टेकुस्थित काठमाडौं परिसरको हिरासतमा छन्।

राष्ट्रिय टोलीबाट ५० भन्दा बढी खेल खेलिसकेका सागरले २००९ देखि कप्तानी गर्दै आएका छन्। रितेश र सन्दीप पनि राष्ट्रिय टोलीका सिनियर सदस्य हुन्। सन्दीपले राष्ट्रिय टोलीबाट ४९ खेल खेलिसकेका छन्। रितेश भने पहिलो रोजाइमा नपरेको धेरै भइसकेको छ। अञ्जन र विकास दुवै हाल सक्रिय फुटबलमा छैनन्। अञ्जन थ्री स्टार क्लबका पूर्वप्रशिक्षकसमेत हुन्। वैशाख १२ गते रोकिएर भदौ २८ मा राष्ट्रिय लिग पुनः सुरु हुँदा व्यक्तिगत कारण देखाउँदै अञ्जन थ्री स्टारबाट अलग्गिएका थिए।

एसियाली फुटबल महासंघ (एएफसी) 'कोड अफ कन्डक्ट' अनुसार खेल–मिलेमतो गर्ने खेलाडी, प्रशिक्षक, म्याच अफिसियल र प्रशासकमाथि ठूलो कारबाही हुन सक्छ। खेल–मिलेमतो गरेमा वा गर्ने प्रयास गरेमा सम्बन्धित देशको फुटबल संघ र प्रहरीले दोषीमाथि कारबाही गर्ने उल्लेख छ। दोषी प्रमाणित भए उनीहरुमाथि फुटबलका सबैखाले गतिविधिबाट आजीवन प्रतिबन्ध, ठूलो आर्थिक जरिवाना र जेल सजायसमेत हुन सक्छ।

अनुसन्धानस्रोतका अनुसार पक्राउ परेका खेलाडीले समेत केही खेलको नतिजा आर्थिक प्रभावमा आएको स्वीकार गरेका छन्। उनीहरूले प्रारम्भिक बयानमा 'जित्न सक्ने टिमसँगको खेलमा आर्थिक प्रस्ताव अस्वीकार गरेको, तर हार्ने सम्भावना भएका खेलमा आर्थिक प्रस्ताव स्विकार्ने गरेको' बयान दिएको प्रहरी अधिकारी बताउँछन्।

'आर्थिक स्रोत बलियो छैन, एन्फालाई जति भने पनि हाम्रो समस्या सुन्दैन,' एक खेलाडीको बयान उद्धृत गर्दै स्रोतले भन्यो, 'हार्ने खेल मात्रै प्रस्ताव स्विकारेका हौं, जित्न सक्ने त जितेकै छौं।'

एक खेलको एक करोड

नेपाली फुटबल टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लज्जास्पद पराजय बेहोरेर आलोचित हुँदै आए पनि जिम्मेवार संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले परिमाणको कारण खुट्ट्याउन चासो देखाएको थिएन।

सन् २०११ मा विश्वकप छनोटअन्तर्गत जोर्डनसँगको पहिलो लेगमा ९–० ले पराजित भएपछि नेपाली टोलीको प्रदर्शनको निकै आलोचना भएको थियो। त्यही छनोटको दोस्रो लेग काठमाडौंमा हुँदा भने १–१ को बराबरीमा टुंगिएको थियो। तर, एन्फाले पहिलो लेग र दोस्रो लेगको अन्तर कसरी त्यस्तो आयो भन्नेमा गम्भीरतापूर्वक समीक्षा गरेन। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार त्यही बेलादेखि नेपाली टोलीका खेलाडीमाथि सुरक्षा निगरानी बढाइएको थियो। निगरानीका क्रममा केही खेलाडीको नाममा केही मनी ट्रान्सफरहरूबाट पैसा आउने गरेको देखियो। त्यसपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो।

अनुसन्धान अगाडि बढ्दै जाँदा मलेसिया र सिंगापुरमा मुख्य फिक्सरहरू रहेको र अन्य सहयोगी फिक्सरहरू नेपालमा समेत रहेको खुलेपछि प्रहरीले उनीहरूको पाटोबारे समेत अनुसन्धान गरिरहेको छ।

एसएसपी खनालका अनुसार अहिले पक्राउ परेकाहरू खेल मिलेमतोका मुख्य व्यक्तिहरू हुन्। अन्य खेलाडी, प्रशिक्षक र पदाधिकारीसमेत अनुसन्धानको घेरामा छन्। केहीको खोजी भइरहेको र केहीबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए।

'अनपेक्षित नतिजा आएपछि खेलकै कारण हो या अन्य प्रभावित कारणहरू पनि छन् भनेर खोजी गर्दा केही खेलाडीको गतिविधि शंकास्पद देखिएपछि अनुसन्धानलाई तीव्र पारियो,' एसएसपी खनालले भने, 'त्यसैको नतिजा हो आजको पक्राउ।'

प्रहरीले प्राप्त गरेको आर्थिक विवरणमा एक खेलवापत एक लाख डलर (करिब एक करोड रुपैयाँ) सम्म लिएको उल्लेख छ। खेल मिलेमतोवापतको अधिकांश रकम मलेसियाबाट हुन्डी र मनी ट्रान्सफर हुँदै नेपाल भित्रिने गरेको अनुसन्धान अधिकारी बताउँछन्।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरूले वेस्टर्न युनियन, साइबर मनी ट्रान्सफर, सोसाइटी ट्राभल्स प्रालि, सिजी फिन्को र साइबर मनी ट्रान्सफरबाट पैसा लिएको विवरण फेला पारिसकेको छ। अधिकांश रकम अञ्जनले बुझेका थिए।

आठ खेल शंकामा

अनुसन्धान अधिकारीका अनुसार ८ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो भएको देखिएकाले सोही खेललाई केन्द्रित गरी अनुसन्धान अगाडि बढाइएको छ। नेपालले खेलेको पछिल्लो ९ अन्तर्राष्ट्रिय खेल गोलविहीन छ।

प्रारम्भिक अुनसन्धानमा उनीहरूले अफगानिस्तान, बंगलादेश, जोर्डन, मलेसिया, इराक, क्यामरुन, फिलिपिन्स र प्यालेस्टाइनसँग खेलेका खेलको नतिजा मिलेमतोमा आएको देखिएको छ। दक्षिण कोरियाको इन्चोनमा सन् २०१४ मा भएको एसियाडअन्तर्गतको फुटबलसमेत मिलेमतो देखिएको अनुसन्धान अधिकारी बताउँछन्। उनीहरूका अनुसार पक्राउ परेकामध्ये अञ्जन केसी खेल मिलेमतोका मुख्य संयोजक देखिएका छन्। मिलेमतोवापत आउने अधिकांश रकम उनले लिने र अन्य खेलाडीलाई दिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी अधिकारी बताउँछन्।

अनुसन्धान अधिकारीका अनुसार अधिकांश खेलमा हार्ने गोलअन्तर बढाउन मिलेमतो भएको देखिएको छ। समूह चरणको नतिजा प्रभावित पार्न बुकीले आवश्यकताअनुसार टिमको केही खेलाडीलाई आर्थिक प्रस्ताव गर्ने र केही खेलमा पूरै टिमलाई नै प्रभाव पारेको समेत देखिएको छ।

स्रोतका अनुसार केही खेलाडीलाई प्रभाव पार्नुपरे बुकीले मुख्य रूपमा रक्षक, गोलकिपरसँग आर्थिक लेनदेन गर्ने गरेको तथ्य फेला परेको अनुसन्धानरत प्रहरी अधिकारी दाबी गर्छन्। पक्राउ परेकामध्ये रितेशबाहेक बाँकी सबै रक्षक हुन्।

टोलीलाई नै आर्थिक प्रभाव पारेका केही खेलमा प्रशिक्षकसमेत संलग्न देखिएको, तर उनीहरूबारे विस्तृत अनुसन्धान भइरहेको एक प्रहरी अधिकारीले जानकारी दिए। 'अहिलेसम्मको अनुसन्धानमा एक खेलवापत एक करोड नेपाली रुपैयाँसम्म डिल भएको देखिएको छ,' अनुसन्धानस्रोतले भन्यो, 'त्यो वापत खेलाडीको भूमिकाअनुसार एक लाखदेखि १० लाखसम्म पाउने गरेका थिए।'

घरेलु लिगमा पनि शंका

वर्षौंदेखि घरेलु लिगमा पनि खेल मिलेमतोको चर्चा हुने गरे पनि एन्फाले गम्भीर रूपमा त्यसको अनुसन्धान गर्न सकेन। केही वर्षअघि क्लबका प्रशिक्षकहरुले नै खेलमिलेतोको शंका गर्दा पनि एन्फाले महेश विष्टको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको थियो। तर, त्यो समितिले न त कुनै प्रतिवेदन बुझाएको सार्वजनिक भयो, न कुनै खेलाडीमाथि नै कारबाही भयो। अहिले जारी राष्ट्रिय लिगमा पनि मिलेमतो हुनसक्ने एक प्रशिक्षकले शंका गरेका थिए। उनले भनेका थिए, 'नेपाल हो यहाँ जे पनि हुनसक्छ।'
- See more at: http://www.nagariknews.com/sports/football/story/47190.html#sthash.fOhxDrso.dpuf

No comments:

Post a Comment