Wednesday, October 14, 2015

दसैं मान्न घर कसरी जाने?


दसैं मान्न घर कसरी जाने?काठमाडौं– दसैंले छोपिसक्यो। धेरैजसो किनमेल र घर फर्कने ताहुरमाहुरमा छन्। पोहोरपरार यतिबेलासम्म टाढाटाढाका धेरै जसो घर पुगिसकेका हुन्थे। यसपालि अवस्था सहज देखिँदैन। भारतीय नाकाबन्दीले पेट्रोलियम हाहाकार छ, गाडी चलेका छैनन्।सबैको साझा चिन्ता छ– दसैं मान्न घर कसरी फर्कने?

सिन्धुलीकी २२ वर्षीया सुशीला कार्की रत्नपार्कको फुटपाथमा प्लास्टिक फूल तथा घर सजाउने सामग्री व्यापार गरेर राजधानीमा गुजारा गर्छिन्। सधैं झैं दसैं मनाउन उनलाई पनि घर जानु छ। तर उपाय निस्किएको छैन। नाकाबन्दीले उत्पन्न यातायात समस्याको पिरलोमा छिन् उनी। ' 'यसपालि खै, गाडी नै पाइँदैनजस्तो छ, कसरी घर जाने हो?' उनले पिरलो गरिन्।

सुशीला अघिल्लो वर्ष टीकाको तीन दिनअघि अर्थात् फूलपातीको दिन घर गएकी थिइन्। व्यापार हुने मुख्य समयमा उनलाई न छिट्टै घर जान मन छ न काठमाडौंमै बस्न। उनी दोधारमा छिन्, 'अहिले जान पाए त हुने हो तर व्यापारको समय नै यही हो। पहिलेजस्तो नभए पनि धेरथोर बिक्री हुन्छ कि भन्ने आशा छ।'

कार्कीजस्ता राजधानीमा गुजारा गरिरहेका धेरै जसोमा यसपालि घर कसरी जाने भन्ने मात्र चिन्ता छैन, गत वैशाखमा गएको भूकम्पले परिवारका सदस्य गुमाउनु वा घरबासविहीन भएको पीडा पनि छ।

सुशीलाको पनि सिन्धुलीको घर भत्क्यो, आफन्तको ज्यान गुम्यो। यसपालि टीका लगाउन नभए पनि आफन्तसँगको भेटघाट र भत्केको घर मर्मत गर्ने योजना छ उनको। उनलाई दसैंको रौनकले अलिकति पनि छोएको छैन। इन्धन अभावले सहरमा बस्न सक्ने अवस्था छैन। 'डेरामा ग्यास सकियो, पसलमा छैन भन्छन्। १५ रुपैयाँ पर्ने चियाको मूल्य २० रुपैयाँ पुगिसक्यो,' उनले पीडा सुनाइन्।

सुशीलाको जस्तो पीडा र दोधार काठमाडौं बस्दै आएका थुप्रैको छ। सरकारले दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि लामो दुरीमा चल्ने सवारीसाधनलाई इन्धन उपलब्ध गराउने प्रतिबद्धता त जनाएको छ तर नागरिक विश्वस्त हुन सकिरहेका छैनन्।

काठमाडौं, इन्द्रचोकको फुटपाथमा लत्ताकपडा बिक्री गर्दै आएका इलामका ४३ वर्षीय राजेन्द्र गिरी सरकारले भनेका कुनै पनि कुरामा विश्वस्त छैनन्। 'यस वर्ष त दसैं के रमाइलो होला र! देशको हालत यस्तो छ,' उनले भने, 'सरकारले खाना पकाउने ग्यास त दिन सकेको छैन, कहाँबाट घर पुर्याहउन तेल देला र?'

घरमा ग्यास सकिन लागेकाले उनी बिहानको खान पसलछेउकै होटलमा खान्छन्। छोराछोरी बेलुकाकै खाना भुटभाट पारेर खान्छन् र स्कुल जान्छन्। 'छोराछोरी कचकच गरिरा'छन्, घर जाने भनेर,' उनले भने, 'तर के गर्ने? गाडी चले त मलाई पनि जान मन छ। यिनीहरूलाई उतै छाडेर आउँथेँ। तिहारसम्म उतै बस्थे। हामी बूढाबूढीको जेनतेन चलिहाल्थ्यो।'

गिरीलाई घर जान पाइएला भन्ने लागेको भने छैन तर पनि झिनो आशा भने अझै छ— 'गाडी चले जाने, नत्र खोइ?'

अन्योलमा यातायात व्यवसायी

नेपालीको ठूलो चाड दसैं अर्को साता सुरु हुँदैछ। अघिल्ला वर्ष यति बेला यातायात व्यवसायी निकै व्यस्त हुन्थे। दसैंका लागि अग्रिम टिकट बुकिङ एक महिनाअघि नै खुलिसक्थ्यो। व्यवसायी यतिखेर कुन रुटमा कति बस थप्ने भनेर हिसाब गर्नमै व्यस्त हुन्थे। दसैंमा काठमाडौंबाहिर जाने यात्रुलाई पनि कम्ता चटारो हुँदैनथ्यो। दसैं मनाउन देशका दूरदराजसम्म पुग्नुपर्ने यात्रु एकाबिहानै टिकट काट्न काउन्टरतिर लाग्थे। प्रहरी र यातायात व्यवसायीले यात्रु नठगिऊन् भनेर नागरिक सहायता डेस्क स्थापना गरेका हुन्थे।

दसैंको समयमा बर्सेनि २० देखि २५ लाख यात्रु काठमाडौंबाट बाहिरिन्छन्। यत्तिकै संख्याका यात्रुलाई यो वर्ष पनि दसैं मनाउन काठमाडौंबाहिर ७५ वटै जिल्लाका कुना–कुना पुग्नु छ। तर कसरी? न यात्रुले अग्रिम टिकट काट्न पाएका छन् न यातायात व्यवसायीलाई गाडी मिलाउने चटारो। झन् धेरै चहलपहल हुनुपर्ने समयमा सडकमा गाडीको संख्या दिनदिनै घट्दै गइरहेको छ। सडकमा गुड्ने सवारीसाधनको भन्दा सडक किनारमा डिजेल हाल्न लामबद्ध सवारीसाधनको संख्या धेरै देखिन्छ।

यस वर्ष दसैंको चहलपहल किन स्वात्तै घट्यो त?

समस्या एउटै हो— इन्धन अभाव।

तीन सातादेखि भारतले लगाएको नाकाबन्दीले इन्धन भित्रिन लगभग ठप्प भएपछि अहिले प्रायः सवारीसाधनका ट्यांकी रित्तिएको छ। कति परिवारले खाना पकाउने ग्यासको सिलिन्डर खाली भएर थन्किइसकेको छ भने कतिको रित्तिँदैछ। होटल र रेस्टुरेन्ट पनि इन्धन अभावले बन्द हुन थालिसकेका छन्।

देशको सबैभन्दा सुविधासम्पन्न सहर काठमाडौंको अहिलेको बसाइ सजिलो छैन। अध्ययन, काम वा यस्तै विभिन्न कारण परिवारसँग छुट्टिएर काठमाडौंमा बसिरहेकाका लागि अहिले दोहोरो पीडा छ। तथापि, सर्वसाधारणको आशा मरिसकेको भने छैन। सरकारले दसैंका लागि यात्रुलाई काठमाडौंबाहिर जान सहज बनाउन दिएको आश्वासनले उनीहरूमा झिनो खुसी भने बाँकी नै छ।

इन्धनसहित अन्य वस्तुको आपूर्ति गर्न जिम्मेवार वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता शम्भु घिमिरे अहिले सर्वसाधारणमा परेको मर्काबारे आफूहरू जानकार भएको र सरकारले गम्भीरतापूर्वक लिएको बताउँछन्। मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल आयल निगम र यातायात व्यवसायीबीच दैनिकजसो यस विषयमा छलफल भइरहेको उनी दाबी गर्छन्। 'तर निर्णय केही पनि भएको छैन। के गर्ने के नगर्ने भन्ने टुंगो छैन,' घिमिरेले नागरिकसँग भने। तर पनि यी दुवै मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीहरू भारतलाई रिझाउन लागिपरेको र इन्धन आयातका लागि भारतको विकल्प खोज्न तयार नभएको स्रोत बताउँछ।

ओखलढुंगाका केशवबाबु खतिवडा घट्टेकुलोमा काठमाडौं डिलक्स बोइज होस्टल सञ्चालन गर्छन्। उनलाई दसैंमा घर जाने मन नभएको होइन। तर होस्टलका अधिकांश विद्यार्थी यसपालि घर जान नसक्ने भएपछि उनले पनि ओखलढुंगा जाने मनसाय त्यागेका छन्।

'दसैंमा आफ्नो घर जान त रमाइलै हुन्थ्यो। तर यहाँ आफ्नै भाइजसरी बसिरहेका विद्यार्थीलाई छाडेर जान मनै मानेन,' उनले भने, 'यो वर्षको दसैं यिनै भाइहरूसँग मिलेर मनाउने सुर कसिसकेँ।' उनको होस्टलमा सुदूरपश्चिमको कर्णालीदेखी मेचीसम्मका विद्यार्थी बस्छन्। 'भाइहरूलाई दाउरामै पकाएर भए पनि खुवाउँछु र दसैं मनाउँछु,' उनको योजना छ।

इन्धनको समस्या

दसैंका बेला उपत्यकाबाट बाहिरिने झन्डै २५ लाख मानिस जान–आउन ८० देखि ८५ हजार गाडी आवश्यक पर्छ। ती गाडी गुडाउन लगभग २८ लाख लिटर डिजेल चाहिन्छ । हालको अवस्थामा त्यो सम्भव छैन। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालका अनुसार सरकारले बिहीबार मात्रै १० लाख लिटर डिजेल उपलब्ध गराउने आश्वासन दिएको छ। 'हामीलाई दसैंमा उपत्यकाबाहिर मात्र यात्रु ओसार्न २८ लाख लिटर तेल चाहिन्छ। तपाईं आफैं अनुमान लगाउनुस्, हामी के गर्न सक्छौं?' उनी प्रश्न गर्छन्।

अध्यक्ष खनालका अनुसार दसैंमा सामान्य अवस्थामा ६५ सयदेखि ७ हजारसम्म गाडी उपत्यकाबाट बाहिरिन्छन्। तर यस वर्ष त्यति मात्रामा गाडी चलाउन सक्ने स्थितिमा न व्यवसायी छन् न सरकार।

'सरकारले आश्वासनअनुसार तेल दियो र घटस्थापनादेखि गाडी चलाउन सक्यौं भने पनि ४५ सयभन्दा बढी गाडी बाहिर पठाउन सक्ने अपस्था छैन,' उनले भने, 'उपत्यकामा अहिले २ सयजति मात्र गाडी उपलब्ध छन्। अरू सबै काठमाडौंबाहिर छन्।'

अहिले नेपाल आयल निगमसँग स्टकमा रहेको तेलले नपुग्ने भएकाले व्यवस्थापनबारे प्रयास गरिरहे पनि स्थिति अन्योलपूर्ण भएको उनले बताए। 'अहिले नाकामा अड्किएका ट्यांकर काठमाडौं प्रवेश गर्न जरुरी छ। तेल नआई गाडी मगाउने कुरा हुँदैन,' उनी भन्छन्, 'अहिले देशभर २० प्रतिशत मात्र सार्वजनिक सवारी चलेकाले दसैंको समयमा यात्रुको चाप अघिल्लो वर्षभन्दा बढ्छ।'

महासंघका अनुसार गत वर्ष २५ लाखभन्दा बढी मानिस दसैंमा उपत्यकाबाहिर गएका थिए। यो वर्ष अवस्थाअनुकूल रहे ३० लाखभन्दा धेरै यात्रु विभिन्न नाका हुँदै बाहिरिन्छन्। 'साना–ठूला गरी दैनिक ३ हजार ४ सयभन्दा धेरै सवारीसाधन आवागमन हुने भएकाले व्यवस्थापन गर्न निकै कठिन हुने खनालले बताए। सामान्य अवस्थामा पनि यात्रुको चाप मारामार हुने र अहिले इन्धन अभावले गर्दा त्यो चाप थामिनसक्नु बन्ने उनको आँकलन छ। दसैं मुखैमा आइरहेका बेला इन्धन आयात करिब–करिब शून्य भएकाले पनि उनीहरू चिन्तित छन्।

छिट्टै बाहिरिनु राम्रो

भैरहवाकी कारभिका बस्याल पढाइ सिलसिलामा नौ वर्षअघि काठमाडौं छिरेकी हुन्। पढाइ सकेर उनी जागिरे छिन्। तर, यसपालिको दसैंमा जस्तो अन्योल यसअघि कहिल्यै नभएको उनको अनुभव छ। 'जसोतसो घर त पुगिएला। खुलेन, स्थिति झन् बिग्रियो भने कसरी फर्किनु,' उनले भनिन्, 'यहाँ अफिस त खुलेपछि हाजिर हुनैपर्योय।'

दसैंकै लागि उपत्यकाबाहिर जानुपर्ने यात्रुको मन खिन्न नहोस् भनेरै सरकारले सक्दो पहल गरिरहेको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारी दाबी गर्छन्। यसैका लागि उपत्यकाबाहिर भएका गाडीलाई भिœयाउने प्रयास सुरु गरेको उनले सुनाए।

अधिकारीका अनुसार सरकारले इन्धन व्यवस्था अझै गर्न सकेको छैन। 'आयल निगमसँग भएको स्टकले कुनै हालतमा पुग्दैन,' उनले भने। विभागले कुन रुटमा कति गाडी चल्छ भनेर यातायात व्यवसायी महासंघसँग लिस्ट मागिसकेको छ। 'आयल निगमले लिस्टअनुसार तेल उपलब्ध गराउने प्रयास गर्नेछ,' उनले समस्या दर्साए, 'टिकटको अग्रिम बुकिङ खोल्नु हुँदैन। टिकट किनबेच त हुन्छ तर त्यहीअनुसार गाडीले तेल नपाए झनै ठूलो समस्या आउँछ।'

संविधान जारी हुने समय नजिकिँदै जाँदा धेरै ठाउँमा बन्दहडताल सुरु भयो। जारी भएलगत्तै तराई बन्द र नाकाबन्दीले थप समस्या चर्काइदियो। यसको सबैभन्दा ठूलो मार यातायात क्षेत्रमा परेको छ। लगभग २५ लाख यात्रुलाई ओहोरदोहोर गराएर पैसा कमाउने सिजनमा व्यवसायीहरू थाप्लोमा हात लगाएर बैंकको ब्याज कसरी तिर्ने भनेर रनभुल्लमा छन्।

'सरकारले घटस्थापनादेखि नै बिदा दिए केही सहज हुन्थ्यो,' विभागका प्रवक्ता अधिकारीले भने, 'त्यसपछि स्कुल–कलेजको सट्टा लामो दुरीको गाडीलाई इन्धन दिन सकिन्छ।'

त्यसो त सरकारले आग्रह गर्नुभन्दा अघि नै अफिस बिदा लिएर धेरै घरतर्फ लागिसकेका छन्। स्याङ्जाको गल्याङ घर भएका शिशिर भण्डारी गोल्डस्टार जुत्ताको मार्केटिङ गर्छन्। उनी गत बिहीबारै घरतिर लागिसके। 'अहिले गए गाडी पाइन्छ,' बानेश्वरचोकमा भेटिएका उनले भने, 'दसैं सुरु भएपछि त जान सकिएलाजस्तो छैन।'

शिशिर त एक्लै परे, समयमै घर लागे। परिवारै लिएर काठमाडौं बसेकाले आफू जान नपाए पनि श्रीमती र बच्चालाई उपत्यकाबाट बाहिर पठाइरहेका छन्। कतिपयले पठाइसके। धनकुटाका उमेश घिमिरेले पनि श्रीमती र बच्चालाई ससुराली विराटनगर पठाइसकेका छन्। 'यहाँ ग्यास छैन। दसैंको मुखमा हिँड्न पेट्रोल पनि छैन,' उनले भने, 'त्यसैले परिवारलाई पठाइदिएँ। म सके धनकुटा जान्छु, नत्र विराटनगर त कसो नपुगिएला।'

काठमाडौंमा माइक्रोबायोलोजी पढिरहेका जुम्लाका वासु उपाध्यायलाई दसैंमा घर जान नपाएर निकै खिन्न लागिरहेको छ। उनले वर्षैपिच्छे दसैंको दिनमा दर्शन गर्दै आइरहेका चन्दननाथ बाबाको मन्दिरलाई टाढैबाट नमन गर्नुपरेको छ। नेताहरू अपारदर्शी भइदिँदा नै जनताले यति बढी सास्ती खेप्नुपरेको उनी आरोप लगाउँछन्।

'गतिलो नेता नभएकाले वर्षदिनमा एकपटक जान पाइने घर पनि यसपालि नपाइने भयो। यसभन्दा ठूलो बिडम्बना के हुन्छ?,' उनले भने, 'म त होस्टलमा बस्छु, होस्टलका सरले आफू पनि घर नगएर हामीसँगै दसैं मनाउने भन्नुभएको छ।'

काठमाडौंमा बसेर अध्ययन गरिरहेका ओखलढुंगाका सुरेश दाहाल अहिलेको समस्यामा सरकारको कमजोरी देख्छन्। 'दसैंको मुखमा घर जान नपाएर अर्काको शरणमा बस्नुपरेको छ,' उनले आक्रोश पोखे, '१५–१७ दिन भइसक्यो, अघोषित नाकाबन्दी भनेको, केही गर्नुपर्दैन सरकारले?'

आपूर्ति मन्त्रालयका प्रवक्ता घिमिरे सरकारले आफूले सक्ने गरिरहेको दाबी गर्छन्। 'देशमा परेको समस्याबारे सबैलाई अवगत नै छ। छलफल भइरहेको छ,' उनले भने, 'यस्तो विषम परिस्थितिमा सबैले राज्यलाई सहयोग गर्नुपर्छ।' उनले राज्य पक्षलाई जनताले सहयोग गर्नुपर्ने बताए पनि राज्यको जनताप्रतिको कर्तव्यबारे प्रश्न गर्दा आफू केही बोल्न सक्ने अवस्थामा नरहेको बताए।

'वाणिज्य मन्त्रालय, यातायात मन्त्रालय, व्यवसायी र आयल निगमबीच हरेक दिनजसो छलफल चलिरहेको छ। निर्णय नभइन्जेल केही भन्ने अवस्था छैन,' उनले भने।

दसैं बिदा नथप्ने शुक्रबारको निर्णयसँगै फूलपातीको दिन उपत्यका छाडेर दुई–तीन दिनका लागि सास्ती भोग्दै घर पुग्ने अभिलाषा धेरैले त्याग्नेछन्। राजधानीबाट बाहिरिने २५ लाख यात्रुले हप्तौंदेखि दसैंमा घर जान पर्खिरहेको बारे सरकार जानकार भएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारी बताउँछन्। आयल निगमले सार्वजनिक यातायातका लागि कहिले र कहाँ इन्धन वितरण गर्छ भन्ने अहिलेसम्म यकिन नभएकाले अन्योलको अवस्था रहेको कतिपय बताउँछन्।

'केही दिनमा आपूर्ति सहज भएन भने निकै कठिन अवस्था आउँछ। त्यसैले अहिले काठमाडौंमा जरुरी काम नभएकाहरू अहिले नै घर जाँदा राम्रो हुन्छ,' उनी सुझाव दिन्छन्। यसो भए घटस्थापना सुरु भएपछि यात्रुको चाप कम गर्न सहयोग पुग्ने उनले बताए।
- See more at: http://www.nagariknews.com/feature-article/story/46904.html#sthash.bSpVFXb3.dpuf

'दसैंअघि ग्यास आउँदैन'


'दसैंअघि ग्यास आउँदैन'

नेपाल ग्यास उद्योग संघका अनुसार राजधानीमा ग्यास भित्रिने मुख्य नाका वीरगन्ज हो। वीरगन्ज भन्सार अझै खुलेको छैन। खुलेपछि पनि राजधानी ल्याएर उपभोक्ताका भान्सामा ग्यास पुर्यााउन कम्तीमा एक साता लाग्छ।

'राजधानीमा ग्यास भित्रिने मुख्य नाका वीरगन्ज भन्सार अहिलेसम्म नखुलेकैले ग्यास आउन नसकेको हो,' संघका उपाध्यक्ष कुश मल्लीले नागरिकसँग भने, 'खुलेपछि पनि राजधानी ल्याएर वितरण गर्न कम्तीमा एक साता लाग्छ।'

दसैंअघि नाका खुलेर ग्यास राजधानी भित्रिए पनि ग्यास उपभोक्ताले दसैंलाई नपाउने उनले प्रस्ट पारे। 'पेट्रोल, डिजेलजस्तो सिधै वितरण गर्न मिल्दैन, आइहाले पनि सम्बन्धित कम्पनीमा पठाउँदा र सिलिन्डर भरेर डिपोमा पुग्दा एक साता बित्छ,' उनले भने।

देशका विभिन्न भागमा अन्य नाकाबाट ग्यास भित्रिए पनि काठमाडौं आउने ६० प्रतिशत ग्यास भारतको बरौनी रिफिलिर कम्पनीबाट ल्याइन्छ। बरौनी वीरगन्ज (रक्सौल) नाकाबाट नजिक रहेकाले अन्यत्रबाट ग्यास ल्याउन नसकिने अवस्था मल्लीले औंल्याए।

'भरेर तयारी अवस्थामा राखिएका ग्यासका बुलेट सबै वीरगन्ज नाकामै छन्, सरकारले पहल गरे मात्र सम्भव छ,' उनले भने। त्यही बुलेट सरकारले भाडा दिएर भैरहवा नाकाबाट भने ल्याउन सकिने उनले विकल्प सुझाए।

दसैंजस्तो चाडमा धेरै परिकार पकाउनुपर्ने र पाहुना पनि धेरै आउने भएकाले सामान्य दिनभन्दा धेरै इन्धन चाहिन्छ। कतिपय सर्वसाधारण र होटल व्यवसायी ग्यास सकिएर दाउराको भर परिसकेका छन्। कतिका घरमा साता/दुई सातादेखि ग्यास सकिइसकेको छ भने कतिपयको दसैंअगावै ग्यास सकिने अवस्था छ।

चाहविलकी सरिता ढुंगानाको घरमा खाना पकाउने ग्यास सकिएको १५ दिन भयो। ढुंगाना परिवार अनौठो तरिकाले गुजारा चलाइरहेको छ। ढुंगानाका अनुसार यो परिवारले राइसकुकरमा आलु उसिन्ने, नुन–खुर्सानीसँग साँध्ने र त्यसैसँग भात खाने, राइसकुकरमा चाउचाउ पकाउने, आलु–काउली राइसकुकुरमा उसिनेर साँध्नेजस्ता उपायले गुजारा चलाउँदै आएको छ यो परिवारले।

नयाँ सरकार गठनपछि दसैंसम्म ग्यास आउला भन्ने आशाले यो परिवारले अन्य वैकल्पिक इन्धनको जोहो पनि गरेन। 'करेन्ट लाग्ने डरले हिटर पनि किनिनँ, ग्यास नभएपछि दसैं आएजस्तो नै भएको छैन,' ढुंगानाले बुधबार नागरिकसँग भनिन्।

दसैंमा घरबेटीको बारीमा चुलो बनाएर दाउराले खाना पकाउने सोच बनाएकी छन् सरिताले।

एक साताअघि ग्यास सिद्धिएपछि बुद्धनगरका सुबोध गौतम दही, चिउरा, चिया, बिस्कुट र पाउरोटीको भरमा गुजारा चलाइरहेका छन्। सानो शिशुसहित चार जनाको परिवार बस्दै आएकोमा ग्यास सकिएपछि उनले श्रीमती र छोरी र भाइलाई घर पठाए।

'सानो बच्चालाई लिटो खुवाउनुपर्थ्यो, अरूको घरमा कति दिन खुवाउने भनेर घर पठाएँ,' उनले भने। ग्यास नपाएसम्म परिवारलाई काठमाडौ नल्याउने उनले निधो गरेका छन्।

'पेट्रोल त लाइन बसेर ल्याएँ, पेट्रोलभन्दा ठूलो ग्यास रहेछ, चुलो नै बलेन,' उनले भने। ग्यास खोज्न दैनिक चिने–जानेकालाई फोन गर्नु र ग्यास डिपोमा धाउनु उनको दैनिकी बनेको छ।

सानोठिमी, भक्तपुरका डिपी भट्टराईको परिवारलाई पनि दसैंका बेला ग्यास सकिए के गर्ने भन्ने चिन्ताले सताएको छ। बजारमा ग्यास सकिएपछि जोहो गरेको ग्यास पनि एक/दुई दिनमै सकिन लागेको उनले सुनाए। 'आपतमा चिया पकाउन राखेको यो पनि सकियो भने झन् आपत,' उनले भने।

'नाका खोल्नकै लागि आज (बुधबार) पनि परराष्ट्रमन्त्रीलाई भेट्यौं, नेपाल आयल निगमलाई पनि भेट्यौं,' संघका उपाध्यक्ष मल्लीले भने। परराष्ट्रमन्त्रीले भारतसँग नाका खोल्न पहल गरेको बताएको र नाका खुलेपछि मात्र राजधानीमा ग्यास भित्रिने जानकारी दिएको उनले सुनाए।


काठमाडौं- दसैंले छोपिसक्यो, प्राय उपभोक्ताका भान्सामा खाना पकाउने एलपी ग्यास छैन। अधिकांश सिलिन्डर रित्ता छन्, भरूँ त बजारमा पनि पाइँदैन। भारतीय नाकाबन्दीले बजारमा पेट्रोल मात्र होइन, ग्यासको पनि चरम अभाव छ। चाडपर्वमा अन्य समयमा भन्दा बढी खपत हुने इन्धन नपाउँदा उपभोक्ता हैरान छन्। विशेषगरी भान्साको चिन्ता गृहिणीलाई बढी हुन्छ।राजधानीका उपभोक्ताले कहिले पाउँछन् त ग्यास?व्यवसायी भन्छन्– दसैंअघि सम्भव छैन।

- See more at: http://www.nagariknews.com/feature-article/story/47187.html#sthash.bHz7kdsz.dpuf

फुटबल खेल-मिलेमतोमा कप्तानसहित पाँच पक्राउ

सागरसहित राष्ट्रिय टोलीका खेलाडी रितेश थापा र सन्दीप राई तथा पूर्वराष्ट्रिय खेलाडी विकाससिंह क्षत्री र अञ्जन केसीलाईपक्राउ गरेको हो।काठमाडौं- फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा पैसा खाएर म्याचफिक्सिङ (खेल–मिलेमतो) गरेको आरोपमा प्रहरीले राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीलाई बुधबार पक्राउ गरेको छ। आठ वर्षयताका अन्तर्राष्ट्रिय खेलमा बुकी (दलाल) सँग मिलेर म्याचफिक्सिङ गरी चाहेजस्तो नतिजा निकालेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले खेल–मिलेमतो आरोपमा खेलाडी पक्राउ परेको यो नेपाली फुटबल इतिहासकै पहिलो घटना हो। अहिलेसम्म यो आशंकामा एन्फाले कसैलाई कारबाही गरेको छैन।

नेपाल प्रहरीले पहिलोपटक हात हालेको यो अपराधमा अनुसन्धानमा संलग्न प्रमुख सर्वेन्द्र खनालले खेल मिलेमतो गरेर राष्ट्रविरुद्ध अपराध गरेकाले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको बताए। उनीहरूलाई राज्यविरुद्धको अपराध ऐनअन्तर्गत अनुसन्धान अघि बढ्ने पनि खनालले जानकारी दिए।

'मुलुकका गहना मानिने खेलाडीले आर्थिक प्रलोभनमा परेर राष्ट्रको इज्जत नै बेचेको सूचना आएपछि अनुसन्धान सुरु गरेका हौं,' खनालले नागरिकसँग भने, 'अहिलेसम्मको अनुसन्धानमा उनीहरूको संलग्नतासम्बन्धी गम्भीर तथ्य आएको छ।'

राष्ट्रिय टोलीकै कप्तानसमेतको संलग्नतामा खेल मिलेमतो हुने गरेको सूचना पाएपछि प्रहरीले संवेदनशील भएर सुरुमा अन्य खेलाडीलाई पक्राउ गरेको थियो। महिना दिनअघि नै अनुसन्धान निचोडमा पुगे पनि मिलेमतोमा सबैभन्दा बढी सक्रिय देखिएका अञ्जन भारतको सिक्किम गएपछि प्रहरीले कसैलाई पक्राउ गरेन। उनी नेपाल आएको सूचना आएपछि पक्राउको क्रम सुरु गरेको थियो। बुधबार बिहानबाट सुरु भएको पक्राउ क्रममा सबैभन्दा पहिला अञ्जन र विकास दुवैलाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो।

उनीहरूसँगको प्रारम्भिक सोधपुछमा सागरको सूचना पुष्टि भएपछि महाशाखा टोलीले बुधबार दिउँसो उनलाई गैरीधाराबाट पक्राउ गरेको थियो। लगत्तै नेपाल पुलिस क्लबका गोलकिपर रितेशलाई पक्राउ गरेको थियो। रितेश असइ हुन्। पक्राउ सबै महाशाखाको टेकुस्थित काठमाडौं परिसरको हिरासतमा छन्।

राष्ट्रिय टोलीबाट ५० भन्दा बढी खेल खेलिसकेका सागरले २००९ देखि कप्तानी गर्दै आएका छन्। रितेश र सन्दीप पनि राष्ट्रिय टोलीका सिनियर सदस्य हुन्। सन्दीपले राष्ट्रिय टोलीबाट ४९ खेल खेलिसकेका छन्। रितेश भने पहिलो रोजाइमा नपरेको धेरै भइसकेको छ। अञ्जन र विकास दुवै हाल सक्रिय फुटबलमा छैनन्। अञ्जन थ्री स्टार क्लबका पूर्वप्रशिक्षकसमेत हुन्। वैशाख १२ गते रोकिएर भदौ २८ मा राष्ट्रिय लिग पुनः सुरु हुँदा व्यक्तिगत कारण देखाउँदै अञ्जन थ्री स्टारबाट अलग्गिएका थिए।

एसियाली फुटबल महासंघ (एएफसी) 'कोड अफ कन्डक्ट' अनुसार खेल–मिलेमतो गर्ने खेलाडी, प्रशिक्षक, म्याच अफिसियल र प्रशासकमाथि ठूलो कारबाही हुन सक्छ। खेल–मिलेमतो गरेमा वा गर्ने प्रयास गरेमा सम्बन्धित देशको फुटबल संघ र प्रहरीले दोषीमाथि कारबाही गर्ने उल्लेख छ। दोषी प्रमाणित भए उनीहरुमाथि फुटबलका सबैखाले गतिविधिबाट आजीवन प्रतिबन्ध, ठूलो आर्थिक जरिवाना र जेल सजायसमेत हुन सक्छ।

अनुसन्धानस्रोतका अनुसार पक्राउ परेका खेलाडीले समेत केही खेलको नतिजा आर्थिक प्रभावमा आएको स्वीकार गरेका छन्। उनीहरूले प्रारम्भिक बयानमा 'जित्न सक्ने टिमसँगको खेलमा आर्थिक प्रस्ताव अस्वीकार गरेको, तर हार्ने सम्भावना भएका खेलमा आर्थिक प्रस्ताव स्विकार्ने गरेको' बयान दिएको प्रहरी अधिकारी बताउँछन्।

'आर्थिक स्रोत बलियो छैन, एन्फालाई जति भने पनि हाम्रो समस्या सुन्दैन,' एक खेलाडीको बयान उद्धृत गर्दै स्रोतले भन्यो, 'हार्ने खेल मात्रै प्रस्ताव स्विकारेका हौं, जित्न सक्ने त जितेकै छौं।'

एक खेलको एक करोड

नेपाली फुटबल टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लज्जास्पद पराजय बेहोरेर आलोचित हुँदै आए पनि जिम्मेवार संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले परिमाणको कारण खुट्ट्याउन चासो देखाएको थिएन।

सन् २०११ मा विश्वकप छनोटअन्तर्गत जोर्डनसँगको पहिलो लेगमा ९–० ले पराजित भएपछि नेपाली टोलीको प्रदर्शनको निकै आलोचना भएको थियो। त्यही छनोटको दोस्रो लेग काठमाडौंमा हुँदा भने १–१ को बराबरीमा टुंगिएको थियो। तर, एन्फाले पहिलो लेग र दोस्रो लेगको अन्तर कसरी त्यस्तो आयो भन्नेमा गम्भीरतापूर्वक समीक्षा गरेन। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार त्यही बेलादेखि नेपाली टोलीका खेलाडीमाथि सुरक्षा निगरानी बढाइएको थियो। निगरानीका क्रममा केही खेलाडीको नाममा केही मनी ट्रान्सफरहरूबाट पैसा आउने गरेको देखियो। त्यसपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो।

अनुसन्धान अगाडि बढ्दै जाँदा मलेसिया र सिंगापुरमा मुख्य फिक्सरहरू रहेको र अन्य सहयोगी फिक्सरहरू नेपालमा समेत रहेको खुलेपछि प्रहरीले उनीहरूको पाटोबारे समेत अनुसन्धान गरिरहेको छ।

एसएसपी खनालका अनुसार अहिले पक्राउ परेकाहरू खेल मिलेमतोका मुख्य व्यक्तिहरू हुन्। अन्य खेलाडी, प्रशिक्षक र पदाधिकारीसमेत अनुसन्धानको घेरामा छन्। केहीको खोजी भइरहेको र केहीबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए।

'अनपेक्षित नतिजा आएपछि खेलकै कारण हो या अन्य प्रभावित कारणहरू पनि छन् भनेर खोजी गर्दा केही खेलाडीको गतिविधि शंकास्पद देखिएपछि अनुसन्धानलाई तीव्र पारियो,' एसएसपी खनालले भने, 'त्यसैको नतिजा हो आजको पक्राउ।'

प्रहरीले प्राप्त गरेको आर्थिक विवरणमा एक खेलवापत एक लाख डलर (करिब एक करोड रुपैयाँ) सम्म लिएको उल्लेख छ। खेल मिलेमतोवापतको अधिकांश रकम मलेसियाबाट हुन्डी र मनी ट्रान्सफर हुँदै नेपाल भित्रिने गरेको अनुसन्धान अधिकारी बताउँछन्।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरूले वेस्टर्न युनियन, साइबर मनी ट्रान्सफर, सोसाइटी ट्राभल्स प्रालि, सिजी फिन्को र साइबर मनी ट्रान्सफरबाट पैसा लिएको विवरण फेला पारिसकेको छ। अधिकांश रकम अञ्जनले बुझेका थिए।

आठ खेल शंकामा

अनुसन्धान अधिकारीका अनुसार ८ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो भएको देखिएकाले सोही खेललाई केन्द्रित गरी अनुसन्धान अगाडि बढाइएको छ। नेपालले खेलेको पछिल्लो ९ अन्तर्राष्ट्रिय खेल गोलविहीन छ।

प्रारम्भिक अुनसन्धानमा उनीहरूले अफगानिस्तान, बंगलादेश, जोर्डन, मलेसिया, इराक, क्यामरुन, फिलिपिन्स र प्यालेस्टाइनसँग खेलेका खेलको नतिजा मिलेमतोमा आएको देखिएको छ। दक्षिण कोरियाको इन्चोनमा सन् २०१४ मा भएको एसियाडअन्तर्गतको फुटबलसमेत मिलेमतो देखिएको अनुसन्धान अधिकारी बताउँछन्। उनीहरूका अनुसार पक्राउ परेकामध्ये अञ्जन केसी खेल मिलेमतोका मुख्य संयोजक देखिएका छन्। मिलेमतोवापत आउने अधिकांश रकम उनले लिने र अन्य खेलाडीलाई दिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी अधिकारी बताउँछन्।

अनुसन्धान अधिकारीका अनुसार अधिकांश खेलमा हार्ने गोलअन्तर बढाउन मिलेमतो भएको देखिएको छ। समूह चरणको नतिजा प्रभावित पार्न बुकीले आवश्यकताअनुसार टिमको केही खेलाडीलाई आर्थिक प्रस्ताव गर्ने र केही खेलमा पूरै टिमलाई नै प्रभाव पारेको समेत देखिएको छ।

स्रोतका अनुसार केही खेलाडीलाई प्रभाव पार्नुपरे बुकीले मुख्य रूपमा रक्षक, गोलकिपरसँग आर्थिक लेनदेन गर्ने गरेको तथ्य फेला परेको अनुसन्धानरत प्रहरी अधिकारी दाबी गर्छन्। पक्राउ परेकामध्ये रितेशबाहेक बाँकी सबै रक्षक हुन्।

टोलीलाई नै आर्थिक प्रभाव पारेका केही खेलमा प्रशिक्षकसमेत संलग्न देखिएको, तर उनीहरूबारे विस्तृत अनुसन्धान भइरहेको एक प्रहरी अधिकारीले जानकारी दिए। 'अहिलेसम्मको अनुसन्धानमा एक खेलवापत एक करोड नेपाली रुपैयाँसम्म डिल भएको देखिएको छ,' अनुसन्धानस्रोतले भन्यो, 'त्यो वापत खेलाडीको भूमिकाअनुसार एक लाखदेखि १० लाखसम्म पाउने गरेका थिए।'

घरेलु लिगमा पनि शंका

वर्षौंदेखि घरेलु लिगमा पनि खेल मिलेमतोको चर्चा हुने गरे पनि एन्फाले गम्भीर रूपमा त्यसको अनुसन्धान गर्न सकेन। केही वर्षअघि क्लबका प्रशिक्षकहरुले नै खेलमिलेतोको शंका गर्दा पनि एन्फाले महेश विष्टको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको थियो। तर, त्यो समितिले न त कुनै प्रतिवेदन बुझाएको सार्वजनिक भयो, न कुनै खेलाडीमाथि नै कारबाही भयो। अहिले जारी राष्ट्रिय लिगमा पनि मिलेमतो हुनसक्ने एक प्रशिक्षकले शंका गरेका थिए। उनले भनेका थिए, 'नेपाल हो यहाँ जे पनि हुनसक्छ।'
- See more at: http://www.nagariknews.com/sports/football/story/47190.html#sthash.fOhxDrso.dpuf

फेरि झुक्यायो भारतले

काठमाडौं- नेपाललाई पेट्रोलियम बेच्ने एकाधिकारप्राप्त इन्डियन आयल कर्पोरेसन (आइओसी) ले सोमबार नेपाल आयल निगमलाई फोन गरेर भन्यो, 'चाहिएजति पेट्रोलियम पदार्थ लिन आउनू!' स्टकसमेत रित्तिएर आकुलव्याकुल बनेको निगमका उच्च अधिकारी आइओसीको फोनबाट हौसिए र तुरुन्तै १ सय ७२ वटा ट्यांकर भारतका विभिन्न नाकास्थित डिपोमा तेल भर्न पठाए।
परिस्थिति भने त्यसको ठिक उल्टो भयो, आइओसीले तेल दिन ठाडै अस्वीकार गरिदियो, भारतीय पम्पले तेल दिन मानेनन्।

'हाम्रा ट्यांकर पुगेर पेट्रोलियम पदार्थ माग्दा आइओसीले ठाडै अस्वीकार गरिदियो,' निगम उच्चस्रोतले बुधबार नागरिकसँग भन्यो, 'यसअघि एकपटक यस्तै धोका पाए पनि अब त त्यसो नहोला भन्ने विश्वास गरेका थियौं तर भारतले पुरानै रवैया दोहोर्या'यो। यो हेपाइको पराकाष्ठा हो। यसमा सरकार बोल्नुपर्छ।'

बुधबार त झन् एक थोपै तेल दिएन आइओसीले।

फेरि यस्तो किन? स्रोतका अनुसार बुधबार निगमका उच्च अधिकारीले पटक–पटक फोन गरे तर उता टेलिफोनै उठाइएन।

आइओसीले आफू माथि पर्न आयल निगमबाट पठाइएका पौने २ सय ट्यांकरमध्ये बढीमा आधा दर्जनलाई तेल भरिदिएको छ। 'तर उसले कतिसम्म बदमासी गर्यो२ भने तेल लोड भएका कुनै पनि ट्यांकरलाई नेपाल छिर्नै नदिएर उतै रोकिदियो,' स्रोतले भन्यो, 'यसबारे सरकार र राजनीतिक नेतृत्वले बोल्नुपर्योा।'

निगमका अनुसार बुधबार इन्धन भर्न बरौनी ४०, रक्सौल ६३, बेतालपुर ३८, गोन्डा १९ र बन्थरामा १२ गरी १ सय ७२ ट्यांकर पठाइएको थियो। तीमध्ये १० प्रतिशतमा आइओसीले इन्धन भरिदिएको छ। ती ट्यांकरलाई पनि नेपाल आउन दिइएको छैन।

निगमले मंगलबार डिजेल र पेट्रोल गरी बाग्मती अञ्चलमा मात्रै ७ लाख ५० हजार लिटर वितरण गरेको थियो। 'हामीले मंगलबार साढे ७ लाख लिटर पेट्रोल र डिजेल वितरण गर्यौं।, त्यसलाई उपभोक्ताले एकैपटक भारतबाट ठूलो परिमाणमा आएको भन्ने बुझे,' निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले भने, 'नाकाबन्दी लागेकै बेला भारतमा लोड भएका ट्यांकर तीन सातापछि एकैदिन छुट्दा बढी देखिएको हो। वास्तविकता त्यस्तो होइन।'

निगमका अनुसार नाकाबन्दी सुरु भएयता मुश्किलले दिनमा औसत ४ वटा ट्यांकर नेपाल भित्रिएका छन्। नाकाबन्दीअघि सामान्य दिनमा औसत २ सयभन्दा बढी ट्यांकर नेपाल आउँथे।

नयाँ सरकार गठन भएसँगै सहज रुपमा पेट्रोलियम पदार्थ दिन थालेको आइओसीले आपूर्ति फेरि कटौती गरेको छ। सीमावर्ती क्षेत्रमा रहेका आइओसीका डिपोहरुले मुम्बईस्थित मुख्यालयको आदेश भन्दै बुधबार भारत पुगेका ट्यांकरमध्ये आधा दर्जनलाई मात्रै तेल दिएको आयल निगमले जनाएको छ।

आइओसीका डिपो पुगेका ट्यांकरमध्ये १० प्रतिशतलाई मात्रै तेल दिएको निगमले जनाएको छ। बिनाकारण पेट्रोलियम पदार्थ आपूर्ति कटौती गरेपछि बुझ्न खोज्दा फोन नउठेको स्रोतले बतायो।

'बेतालपुरमा हाम्रा ३८ वटा ट्यांकर पुगेका मध्ये पाँचवटामा डिजेल र एउटामा पेट्रोल दिएको छ,' भट्टाराईले भने, 'मुम्बईको आदेश भन्दै त्यहाँ पुगेका सबै ट्यांकरलाई तेल दिएनन्।'

आइओसीले शनिबारदेखि लोडिङ बढाएर तेल दिएको थियो। शनिबारै आइओसीले निगमलाई टेलिफोन गरेर मागअनुसार पेट्रोलियम पदार्थ दिने भन्दै ट्यांकर पठाउन आग्रह गरेको थियो। आइओसीको आग्रहपछि निगमले स्कर्टिङ गरेर ट्यांकर नाकापारि पठायो।

स्रोतका अनुसार इन्धन आपूर्ति कटौतीबारे मुम्बईका अधिकारीसँग छलफल गर्न खोज्दा उनीहरु सम्पर्कमै आएनन्। 'के कारण पेट्रोलियम पदार्थ कटौती भएको हो, बुझ्न चाहेका छौं तर आइओसीका अधिकारीले कुनै रेस्पोन्स गरेनन्,' स्रोतले भन्यो, 'आइओसीको यो रबैयाले जनता हैरान छन्।'

आईओसीद्वारा इन्धन लोडिङमा पुन: कटौती http://kantipur.ekantipur.com/news/2015-10-14/20151014183402.html

आश्विन २७, २०७२- भारतीय आयल कर्पोरेशन्स (आईओसी)ले इन्धन लोडिङमा पुन: कटौती गरेको छ । निगमका निमित नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार आईओसीले इन्धन लिन भारत पुगेका ट्याङकरमध्ये अधिकाशलाई इन्धन दिएन । ‘आईओसीले इन्धन दिन बोलाएको थियो । सोही अनुसार ट्याङ्कर पनि पठाएका थियौं,’ भटराईले भने, ‘तर, प्रयाप्त मात्रामा लोड दिएन । झुक्याउने काम मात्रै भयो ।’ उनका अनुसार बुधबार सिलगुडीमा १७ ट्याङकर इन्धन लिन गएका थिए । सिलगुडीमा ६ ट्याङकरलाई मात्रै लोड दिएको छ । बरौनीमा ४० ट्याङकर गएका थिए । ४० मध्ये २१ वटालाई लोड दिइएको छ । बेतालपुर नाकामा ३८ ट्याङ्कर गएका थिए । तीमध्ये ७ वटामा मात्रै लोडिङ दिइएको जनाएको छ । गोण्डामा १९ मध्ये १४ लार्इ, मथुरामा १२ मध्ये ७ ले तेल पाएका छन् । रक्सौलमा ६३ ट्याङ्कर छन् । ती ट्याङ्करलाई इन्धन लोड दिइएन । ‘बिना जानकारी इन्धनमा कटौती गर्दा हामीलाई समस्या भएको छ । आईओसीका अधिकारीहरुसँग बुझ्ने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘तर,कर्मचारीहरु सम्पर्कमा आउन चाहेका छैनन् ।’ इन्धन लिन बोलाएर लोड नदिदा चालकहरु प्नि उप्ठ्रोमा परेको निगमको भनाई छ । केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि आईओसीले शनिबारदेखि लोडिङ बढाएर तेल दिएको थियो । आईओसीले निगमलाई टेलिफोन गरेर माग अनुसार पेट्रोलियम पदार्थ दिने भन्दै ट्यांकर पठाउन आग्रह गरेको थियो । निगमले पनि सोही अनुसार ट्याङ्करहरु पठाएको थियो ।

http://kantipur.ekantipur.com/news/2015-10-14/20151014183402.html

म्याच फिक्सिङको आरोपमा राष्ट्रिय टिमका कप्तान सागर थापासहित ४ खेलाडी पक्राउ


आश्विन २७, २०७२- म्याच फिक्सिङको आरोपमा प्रहरीले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई पक्राउ गरेको छ । थापासहित राष्ट्रिय टिमका खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई पनि पक्राउ परेका छन् । उनीहरुसँगै प्रशिक्षक अञ्जन केसी पनि पक्राउ परेका छन् । उनीहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा पक्राउ गरिएको हो । 'संगठीत रुपमा गरिएको राज्यविरुद्धको अपराध भएकाले उनीहरुलाई पक्राउ गरिएको हो । बाहिरका देशसँग पनि समन्वयमा खोजी गरिरेका छाैं,' अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । करिब २ महिना अगाडिदेखि उनीहरुमाथि निगरानी थालिएको थियो । सागर २००९ देखि नेपाली टिमका कप्तान छन् । उनी थ्रीस्टार क्लबका पनि कप्तान हुन् । पक्राउ परेका खेलाडीमध्ये सागर र सन्दिप थ्रिस्टारका खेलाडी हुन् । रितेश थापा नेपाल प्रहरीका खेलाडी हुन् । अञ्जन र विकाससिंह थ्रीस्टारका पूर्वखेलाडी हुन् । केही समय अगाडिसम्म अञ्जन थ्रीस्टारका प्रशिक्षक थिए। २०११ मा भएको विश्वकप छनाैटदेखि नै नेपाली खेलाडीमाथि खेल मिलेमतोको आशंका गरिदै अाएको थियो । जोर्डनमा भएको विश्वकप छनाैटको पहिलो लेगमा नेपाल जोडर्नसँग ९-० ले पराजित भएको थियो । जबकि काठमाडाैंमा भएको दोस्रो लेगमा नेपालले १-१ को बराबरी नतिजा निकालेको थियो ।

http://kantipur.ekantipur.com/news/2015-10-14/20151014183251.html

Tuesday, October 13, 2015

नाकाबन्दीपछि पहिलो पटक बढी पेट्रोलियम पदार्थ भित्रियो - See more at: http://www.nagariknews.com/politics/story/47132.html#sthash.y6N1Pg9j.dpuf

धनगढी-भारतले लगाएको अघोषित नाकाबन्दी पछि आज पहिलो पटक कैलाली भन्सार नाकाबाट सबैभन्दा बढी तीन लाख ६८ हजार लिटर डिजेल र ४० हजार लिटर पेट्रोल धनगढी भित्रिएको छ।
यसअघिसम्म माग परिमाणको १० प्रतिशतमात्र पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको भारतीय आयल निगमले आज भने पर्याप्त तेल दिएको निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख पौडेलले बताए। सोमबारसम्म निगमको क्षेत्रीय कार्यालयमा आठ लाख लिटर डिजेल र ५६ हजार लिटर पेट्रोल मौज्दात रहेको थियो। इन्धन आपूर्तिमा केही सहज भएपछि आज सुदूरपश्चिमका ६७ वटा पेट्रोलियम पम्पबाट कोटा प्रणालीका आधारमा डिजेल तथा पेट्रोल बिक्री वितरण गरिएको छ।

मागअनुसारको परिमाणमा भारतबाट पेट्रोलियम पदार्थ आयात हुनसकेमा आगामी चार/पाँच दिनसम्ममा सुदूरपश्चिममा आपूर्ति सहज भई अभाव हट्ने क्षेत्रीय कार्यालयका प्रमुख पौडेलले बताए।
यसैबीच भारतको उत्तर प्रदेशस्थित बन्थरा डिपोमा पुगेका आयल निगमका २६ ट्याङ्करमा पनि आज पेट्रोलियम पदार्थ लोड भएको जानकारी आएको कार्यालयले जनाएको छ । रासस
- See more at: http://www.nagariknews.com/politics/story/47132.html#sthash.y6N1Pg9j.dpuf